कविता - ओ ! गर्मी

 असार २, २०७५ शनिबार ८:२६:३४ | दिपशिका ओली

लोडसेडिङ मुक्त मुलुक नेपालमा
टुकी र सोलारको उज्यालो हेर्न आएकी?
विश्वमै जलस्रोतको दोस्रो धनी देशका
पानीको लाइन बसाउन आएकी?
कृषिप्रधान देशमा भोकमरीको खबर सुनेर
खानेकुराको कोसेली बोकेर आएकी?
कि, ३८ क्विन्टल सुनको सुनौलो कहानी सुन्न आएकी?
यात माथिका बाहेक अरु कुनै काम?

पहाड र हिमालले हुत्याइदिएर, तराईमा खनिएकी तिमी
आएको यत्रो दिन भैसक्यो, जाने कुरा गर्दिनौ
घरमा श्रीमान् रिसाउदैनन् ?
छोराछोरी न्यास्रो मान्दैनन् ?
घरको अलिकति नि पिर लाको छैन?
पहिला हजुरआमाको पालामा त
तिम्रा साखोसन्तान, बेलामा आउने, बेलामै जाने गर्थे रे
अहिले तिमीहरु त खै के हो के हो !
यति राम्री तिमीलाई यसरी भन्न त नहुने
यस्तो बेलामा,यस्ता व्यवहार बोकेर 
आएकी छ्यौ कसरी क्यै नबोल्नु?

टाढाबाट आएर नि कति सताउन जानेकि
न भित्र सुखले बस्न दिन्छ्यौ,न बाहिर
राति अबेरसम्म सुत्न नदिने
बिहान फेरि कति छिटो उठाउनु परेको
खाना,पानी अमन पार्दिन लाइसक्यौ
तिमी गजधम्म गरेर, बस्न बाँकी ठाउँ कत्तै राखिनौ
कति छिटो घुलमिल हुन जानेकी
कुवा,इनार,पाइप,गाग्री,ड्रम,फिल्टर
बोतल,लोटा जताततै 

अनि तिम्रो र मच्छडको सम्बन्ध चैँ के?
हातै समाएर हिँड्नु पर्ने?
अझ यतिसम्म कि, झुलभित्र पस्नु परे नि नछुट्टिने
तिमी कति बाठी, रातभर गीत मच्छडलाई गाउन लाएर
छट्पटिँदै,पसिना पुछ्दै नाँचिरहन चै हामीलाई लगाउने ?
तिम्रो के जातिले गीत मात्रै गाउँदैन
छट्पटिन,पसिना पुछ्न अलिकति कम गरे शरीरभरि बजाउँछ
यता हेर गालामा डाम,यता हेर हातखुट्टामा फुरौला
तिमी दुईसँग लड्दा लड्दा, अनेक रोगले जित्न लाइसके 
तिमी जाने चैँ कहिले?

तिमीले वर्चस्व जमाको देखेर
डराउँदै झर्दै गरेको पानी नि
फटाहा हावाहुरीले उछिनेर, अगाडि नै पुगेर
काँपिरहेका त्रिपाल,खर र टहरासँग मज्जाले खेलेर जान्छ
जोगिएर भर्खर फल बनेका कलिला दानालाई भुइँभरी पछारेर जान्छ
अनि लोडसेडिङ मुक्त मुलुक भन्ने जानेर पनि आकाशले

आम्मा.. मा...मा
कत्रो पावरको बत्तीको ट्रेलर पठाइदेको
त्यो पनि चर्को आवाजको, साउन्डसिस्टम सहित
शीतलले रुखमुनि डराएको अनुहार लाएर लुकेर हेर्दैछ
पहाडमा जीवन खोज्दै गरेका मकैका बोट कक्कड भएको हेर्न मन छ?
लटरम्म धान फल्ने तराईको 
च्यात्तिएको छाती रसुख्खा भएको ओठ
घिट्घिट् गर्ने घाँटी देखेर, अलिकति दया जागेन?

हामीलाई यति धेरै सताएर 
अझ कतिदिन बसाइ लम्ब्याउन चाहन्छेउ?
तिम्रै अघि सिधा कुरा, हामी अहिलेलाई तिमीदेखि अघाइसक्यौँ
बेलाबेलामा आउने जाने गर, योपटक बिन्ती घर गइदेउ न
यति भन्दा नि नमान्ने, तिमी गर्मी कि अधर्मी?
बरु यसो गरौँ न, साँच्चिकै नतोडिने ठेगान राखौँन
दशै तिहार मनाइसकेर
मंसिर,पुस,माघ नभए फागुनसम्म बस्ने गरी आउली
एक्लै आउन नसके बरु, 
साथी जुटाएर आधी बाटो मै लिन आउलार मित लगाउली 
तापक्रम माइनस डिग्रीमा झरेका हरेक बस्तीसँग 
अंकमाल गरौली,  शीतलहर अनि हिमपातलले कठ्याङ्गिएका झुपडीहरुसँग

चुम्बन गरौली,नयाँ सन्तान पाएर

भर्खरै अस्पतालबाट डिस्चार्ज भएका आमा र बच्चालाई 
महानता देखाउली वर्षौँदेखि त्रिपालमुनि तिमीलाई नै कुरेर बसेका 
बुढा आँमा बासँग, अनि राज गरौली नुहाइसकेर
बार्दली, छत र आँगनमा बसेका हरेकका शरीरमा, हुन्न ?
यति भने त मान्छेउ नि ?
कि अझै बस्ने विचार छ ?
 

अन्तिम अपडेट: फागुन २९, २०८०

दिपशिका ओली

तपाईको प्रतिक्रिया