अव्यवस्थित मेडिकल स्टोरभित्र म्याद नाघेको औषधि फेला

 पुस १२, २०७५ बिहिबार १९:४३:१९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशालामा रहेको प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा म्याद नाघेको औषधिहरु फेला परेको छ ।

जिल्लाको पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो स्वास्थ्य संस्थाको रुपमा रहेको प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा रहेको मेडिकल स्टोरमा बिरामीहरुका लागि अति आवश्यक मानिने औषधिहरु म्याद गुज्रिएको अवस्थामा भेटिएको हो ।

स्वास्थ्य संस्थाको मेडिकल स्टोर नै अव्यवस्थित भन्ने खबर उज्यालोमार्फत प्रकाशित भएपछि बिहीबार दिउँसो नगरप्रमुख शिवनाथ महतोसहितको टोलीले अनुगमन गर्दा मेडिकल स्टोरमा विभिन्न किसिमका औषधिहरुको म्याद महिनाैँ अगाडि गुज्रिसकेकोे र म्याद गुज्रन बाँकी रहेको औषधिहरु एकै ठाउँमा राखिएको फेला परेको थियो ।

एकै ठाउँमा दुवै किसिमको औषधि फेला पर्दा भविष्यमा बिरामीहरुसँग ठूलै दुर्घटना घट्न सक्छ भन्दै नगरप्रमुख शिवनाथ महतोले अस्पताल प्रशासनलाई सचेत गराउँदै व्यवस्थित गर्नका निर्देशन दिनुभएको छ । काम नगरिकन तलब मात्र पकाउने प्रवृत्तिका कर्मचारीलाई कारबाही गरिने चेतावनी दिँदै नगरप्रमुख महतोले तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई  जुनसुकै बेला सरुवा गर्न सकिने प्रतिक्रिया दिनुभएको छ । 

अनुगमनको क्रममा सहभागी भएका नगर स्वास्थ्य सह–संयोजक अशोककुमार महतोले आफूले गएको मंसिर २७ गते स्टोर इञ्चार्जलाई एक हप्ताभित्र उचित व्यवस्थापन गर्नका लागि लिखित रुपमै दिएको निर्देशनको अस्पताल प्रशासनले अटेर गरेको प्रतिक्रिया दिनुभयो ।

यस सम्बन्धमा स्वास्थ्य केन्द्रका इञ्चार्ज डा. मनोजकुमार दाससँग बुझ्दा यसमा अस्पताल प्रशासनको कमजोरी रहेको स्वीकार गर्नुभएको छ । उहाँले मेडिकल स्टोर अति नै आवश्यक रहेकोले नगरपालिकासँग छुटटै व्यवस्थित भवन निर्माणका लागि अनुरोध गर्नुभएको छ । स्टोर इञ्चार्ज मनोजकुमार साहले आफूलाई अस्पताल प्रशासनले अधिक कामको बोझ दिँदा स्टोरलाई समयमै व्यवस्थित गर्न असमर्थ रहेको प्रतिक्रिया दिनुभएको छ ।

बिरामीलाई म्याद गुज्रिएको औषधि भने कहिल्यै नदिएकोस्टोर इञ्चार्ज साहले दावी गर्नुभएको छ ।    
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया