८० रुपैयाँ विद्युत महशुल तिर्न २ हजार खर्च !

 पुस १३, २०७५ शुक्रबार ११:१:१३ | विमल बिष्ट
unn.prixa.net

डोटी – ८० रुपैयाँ विद्युत महशुल तिर्न डोटीका स्थानीयबासिन्दाले २ हजारसम्म खर्च गर्नुपर्ने बाध्यता छ । ग्रामिण क्षेत्रमा विद्युत महसुल तिर्ने ठाउँ नहुँदा सेवा गा्रहीले घण्टौँ हिँडेर जिल्ला सदरमुकामसम्म आएर विद्युत महशुल तिर्ने गरेका छन् । 

डोटीका ग्रामिण भूभागका सेवा ग्राहीले विद्युतको न्युनतम रकम तिन जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नु पर्छ । 

शिखर नगरपालिका १ कपल्लेकीका सेवाग्राही दीर्घबहादुर ऐर भन्नुहुन्छ ‘गाउँमा ३/३ महिनामा बिजुलीको मिटर रिडिङ हुने गरेको छ । बिजुलीको शुल्क खासै महंगो हुँदैन । मात्रै ८० रुपैयाँदखि १०० रुपैयाँसम्म हुन्छ । तर त्यो शुल्क बुझाउन सदरमुकाम जानुपर्छ । गाडीभाडा, खानाखर्च सबै हिसाब गर्दा २ हजार रुपैयाँसम्म खर्च हुन्छ ।’

एकै दिनमा बिजुलीको बिल भुक्क्तानी गर्न नसकिने र पालो कुर्नु पर्ने अवस्थामा त झन् समस्या हुने गर्छ । जिल्लाका ग्रामिण क्षेत्रहरु कपल्लेकी, मुडभारा, सानागाउँ, गोपघाटलागायतका क्षेत्रमा विद्युत महशुल बुझाउने काउण्टर खोलिएका भए पनि कार्यालयले कमचारी अभाव भएको भन्दै सबै काउण्टर दिपायल र सिलगढी सारेपछि सेवाग्राहीलाई समस्या भएको हो । 

दिपायलका विद्युत सबस्टेसन प्रमुख भरत द्धारीयाले कर्मचारी अभाव भएकाले गाउँमा भएका काउण्टर दिपायल तथा सिलगढी सार्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारीको अभाव भयो काउण्टर सार्नुपर्‍याे, क्षेत्रीय अफिस अत्तरीयाले नयाँ कर्मचारी राख्न आदेश दिएको छैन, ग्राहकलाई समस्या भएको छ ।’ 

यहाँका ग्रामीण क्षेत्रमा विद्युतको महशुल बुझाउने काउण्टर विस्थापित गरिएपछि सेवाग्राहीलाई महशुल बुझाउनका लागि निकै समस्या भएको शिखर नगरपालिका १ का वडाध्यक्ष  खडकबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले फेरि ग्रामिण क्षेत्रमा नै काउण्टर राख्न पहल गरिरहेका छौँ ।’

विद्युतको महशुल तिर्न सदरमुकामसम्म पुग्नुपर्दा डोटीका सेवाग्राहीहरु विद्युत कार्यालयसँग आक्रोशित बनेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया