‘मसान लखेट्ने’ भन्दै किशोरीलाई तातो पन्यूले डामियो

 पुस १३, २०७५ शुक्रबार १९:३१:११ | मुना हमाल
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगर –२, गुप्तीपुुर की १८ वर्षीया किशोरीलाई आफन्तबाट कुटिएकी छन् । मसान चढेको भन्दै अमृता बुढालाई आफ्नै नाता पर्ने  अन्टी र अंकलले तातो पन्यूले पिटेका हुन् ।

कुटपिट गरिएको आरोपमा वीरेन्द्रनगर –७, इत्रामका कृष्णा काफ्ले र उनका श्रीमान कृष्णप्रसाद काफ्लेलाई  पक्राउ गरेको छ । झारफुक गर्ने क्रममा पिटेको भन्दै किशोरीकी आमाले उजुरी दिएपछि काफ्ले दम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

पीडित किशोरीकी आमा टीका बुुढाले झारफुक गर्ने भन्दै पुस ८ गते आफ्नी छोरीमाथि कुटपिट भएकोे भनेर प्रहरीले उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । डिएसपी क्षेत्रीले यो मुद्धालाई झारफुक गर्दा कुटपिट भएकाले बोक्सी आरोप कसुर सजाय ऐन अनुसार नै मुद्धा चलाइएको जानकारी दिनुभयो । 

पीडित किशोरीले अन्टीले आफ्नी छोरीलाई बिरामी बनाएको भन्दै कुटेको आरोप लगाएकी छन् । ‘बहिनी बिरामी थिइन् । राति बहिनी बिरामी भएपछि म रोएँ  ।

त्यसबेलामा अन्टीले यही मसान लागी भनेर मलाई एकदुई झापड लगाउनुभयो’, उनले भनिन्, ‘भोलिपल्ट फेरि तातो पन्यूले हान्नुभएको हो । मैले मलाई बचाउबचाउ भन्दा पनि झन पिट्नुभयो ।’ त्यसरी कुटपिट हुँदा पनि अस्पताल नलगेर घर पठाइदिएको उनले बताइन् । ९ गते बिहान घर आएपछि मात्र उनका बुबाले शरीरमा भएको चोट देखेर अस्पताल पुर्‍याएका थिए । बालिकाको मुखमा, शरीरको धेरै भागमा डामिएको छ । उनलाई पाँच दिन वीरेन्द्रनगरको देउती अस्पतालमा उपचारपछि आज घर लगिएको छ । 

यसरी भयो घटना 

बालिका अमृता बुढा  सिलाईकटाई तालिम सिक्नका लागि आफ्नी अन्टी (आफ्नो आमाको बहिनी कृष्णा काफ्ले) को घरमा बस्दै आएकी थिइन् । उनी त्यहीँबाट सिलाईकटाई तालिम सिक्न जान्थिन् । अन्टीको छोरी  बिरामी थिइन् । कृष्णाले अघिल्लो दिन राति ‘तँ मसान लागेर मेरो छोरी बिरामी भई भनेर एकदुई झापड हानेकी थिइन् । ‘पन्यू तताएर कुटपिट गर्नु अघिल्लो दिन पनि अन्टीले झापड लगाउनु भएको थियो । भोलिपल्ट पन्यू तताएर पिट्नु भएको हो ।’ उनले भनिन्, ‘बिरामी भए त आफ्नी छोरीलाई पनि पिट्नुपर्ने । मलाई मात्र पिट्नुभयो ।’

भोलिपल्ट ८ गते बिहान अृमता बिरामी भएकी छ भनेर उनका बुवाआमालाई कृष्णाले बोलाएकी थिइन् । तर अमृताका बुवाआमा त्यहाँ पुग्दा अृमतालाई केही भएको थिएन । केही लागेको रहेछ सन्चो भयो भनेर भनेको बालिकाकी आमा टीका बुढाले बताउनुभयो । त्यसपछि अमृताका बुवा र आमा घर फर्कन लागेका थिए । कृष्णाले अृमताको आमालाई यही बस भनेर भनिन् । त्यसपछि अमृताको बुवा मात्र फर्किए ।

त्यसदिन राति आमाछोरी सँगै सुतेका थिए । राति छोरीले मलाई बचाउ–बचाउ भनेर चिच्चाएपछि कृष्णाले पन्यू तताएर हानेको उहाँले बताउनुभयो । ‘केही महिनादेखि बहिनीलाई धामी आउने गर्थ्यो’, टीकाले भन्नुभयो, ‘उ आफै धामी हूँ मसान लखेट्छु भनेर पिटेकी हो ।’  पुस ९ गते बिहान टीकाले आफ्नी छोरी घर लिएर गएपछि बुबाले अस्पताल ल्याएर आएका थिए । 

मिलापत्रमै टुङ्गगाउने चाहना आफन्तको

बालिकाका आफ्न्तले घटना आफन्तबीच नै भएकाले मिलापत्र गर्ने बताएका छन् ।  किशोरीकी आमा टीका बुढाले आफ्नै बहिनी भएकाले कारबाही नगरेर मिल्ने बताइन् । तर बालिका अमृता बुढाले भने मिल्ने भएपछि औषधि उपचारको जिम्मा लिनुपर्ने बताइन् । ‘कारबाही नै हुनुपर्छ भन्ने लाग्छ । मलाई केही नहुँदा मैले छोरी बिरामी गराइदिए भनेर पिट्नुभयो तर कारबाही नभए औषधि उपचार भए पनि व्यहोर्न पर्छ ।’
 

अन्तिम अपडेट: चैत ३०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया