बजेटका बारेमा जथाभावी नबोल्न सांसदलाई प्रधानमन्त्रीको  निर्देशन

 असार २, २०७५ शनिबार १३:८:५६ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटका बारेमा जथाभावी अभिव्यक्ति नदिन सांसदहरुलाई निर्देशन दिनुभएको छ । 

नेकपाका संसदीय दलका नेता प्रधानमन्त्री ओलीले संघीय संसदको मर्यादा, सत्तापक्ष र प्रतिपक्षी दलको मुल्य र मान्यतामा कायम रहदै सरकारले ल्याएको बजेटको बचाउमा आफ्ना अभिव्यक्ति केन्द्रित गर्न आफ्ना सांसदलाई निर्देशन दिनुभएको हो । आउँदो आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि संघीय संसदमा सत्तारुढ दलकै सांसदहरुले सरकारका मन्त्रीहरुको चर्को आलोचना गरेपछि नेकपाले त्यसबारे छलफल गर्न शनिबार बिहान संसदीय दलको बैठक बोलाएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकको सुरुमै बोल्दै दलका नेता ओलीले विद्यमान परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई सचेत गराउनुभयो । उहाँले बजेटमा समावेश गनर््ुपर्ने योजना तथा भएका त्रुटीहरु भविष्यमा छलफल मार्फत सच्याउदै र थप्दै लैजान सकिने आश्वासन सांसदहरुलाई दिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पश्चिम सेतीका बारेमा मिडियामा आएका विषयमा यथार्थ नरहेको भन्दै सांसदहरुलाई आश्वस्त तुल्याउनुभएको थियो ।   

बजेट विनियोजनमा विभागीय मन्त्री र ठूला नेता हावी भएको भन्दै संघीय संसदमा सरकार र सम्बधिन्त मन्त्रीको चर्को आलोचनामा उत्रिएका सांसदहरुले दलको बैठकमा पनि त्यसबारे कुरा उठाएपछि प्रधानमन्त्रीले संयमित हुदै विद्यमान परिस्थित र संसदीय मूल्य मान्यता तथा सत्तारुढ र प्रतिपक्षी दलको मान्यता अनुसार अघि बढ्न निर्देशन दिनुभएको हो ।

असार १ गतेका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयकका लागि विनियोजित बजेटमाथिको छलफलको संभावित कार्यक्रम सार्वजनिक गरिए पनि सत्तारुढ दलबाटै सरकार र सम्बन्धित मन्त्रीहरुको आलोचना बढी भएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गर्नुभएको थियो ।

नेकपाले शनिबार नै पदाधिकारी र स्थायी समितिको बैठक बोलाएको  छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया