दिल्ली भन्दै कुवेत हिँडेका तीन महिलाको विराटनगरको जोगबनी नाकाबाट उद्धार

 पुस १४, २०७५ शनिबार ११:३५:५८ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – शुक्रबार दिउँसोको करिब ४ बजेको थियो । ३ जना महिला हार मिलाएर जोगबनी नाकाबाट भारत जाँदै थिए ।

भिडभाडका बीच को आयो, को गयो कसैलाई खासै मतलब पनि हुँदैन । तर धेरै संघ संस्थाले निगरानी गरिरहेकै हुन्छन् । त्यही भिडभाडका बीचमा ती महिलाहरुमा नेपाल प्रहरी र माइती नेपालका कर्मचारीको आँखा पुग्यो ।

उनीहरुले ती महिलाहरुलाई सोधिखोजी गर्न थाले । सोधीखोजी गर्दै जाँदा पनि उनीहरुले आफ्नो कुरा खोलेनन् ।  त्यसपछि माइती नेपालका कर्मचारीले ती महिलाको अवस्थाको बारेमा शंकास्पद भएको महसुस गरे । त्यहाँ भएका  ३ जनामध्ये एकजनाको परिवारलाई फोन गर्न लगाए । (स) नाम गरेकी ती महिलाका अभिभावकले कुवेत जानको लागि नेपालबाट नै जाने भनेर घरबाट हिँडेको भन्ने जवाफ दिएपछि उनीहरुले त्यहाँ भेटिएका तीनै जनालाई प्रहरीको सहयोगमा  प्रहरी चौकी रानीमा राखेर थप सोधीखोजी गर्न थाले ।

प्रहरीले उनीहरु मध्येका तीनजनाकै परिवारलाई फोन गरेर बुझ्दै जाँदा २ जना यसअघि पनि भारतको दिल्लीमा गएर काम गर्दै आएका र (स) नाम गरेकी महिला कुवेत जाने भन्दै घरबाट  हिँडेको प्रहरीलाई बताएपछि (स) नाम गरेकी महिलाले आफू दिल्ली हुँदै कुवेत जान लागेको प्रहरीमा बताएको माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले सोधपुछ गरी उनीहरुलाई माइती नेपालको जिम्मा लगाएको छ । (द) र (प) नाम गरेका दुई महिला भने यसअघि पनि ५ वर्ष दिल्लीमा बसेको सोधपुछबाट फेला परेको पाइएको पोखरेलले जानकारी दिए ।

यसरी हुँदैछ उद्धार

एक वर्षको अवधिमा विराटनगर नाकाबाट ११३ जना महिला बेचिनबाट जोगिएका छन् ।  माइती नेपालले सार्वजनिक गरेको तथ्यांक अनुार यसरी उद्धार गरिएका महिलामा १८ वर्ष माथिका ७८ जना र १८ वर्ष मुनिका ३५ जना रहेका छन् । जनवरीमा ५, फेब्रुअरीमा  ६, मार्चमा ७, अप्रिलमा ८, मे महिनामा १२, जुनमा ११, जुलाईमा ६ अगष्टमा १२ जनाको उद्दद्धर भएको छ । त्यस्तै सेप्टेम्बर महिनामा १०, अक्टोबरमा ७ नेभेम्बरमा  २० डिसेम्बरमा  ९ जनाको उद्धार गरिएको संयोजक पोखरेलले बताउनुभयो ।

त्यस्तै जिल्ला गएको तथ्यांकलाई हेर्ने हो भने यसरी बेचबिखन हुनबाट जोगिनेहरुमा  सबैभन्दा बढी मोरङकै रहेका छन् । मोरङ जिल्लाका ३८ जनाको उद्धार भएको छ । त्यस्तै सुनसरी र झापाका १२-१२ जनाको उद्धार भएको छ । सप्तरीका ९ जना, उदयपुर, सिरहा र  धनकुटाका ५–५ जना रहेका छन्  । भोजपुर र संखुवासभाको ३–३ जनाको उद्दार भएको छ ।  सोलुखुम्बु, पाँचथरका २–२ जना र तेह्रथुम, इलाम, ताप्लेजुङ, धादिङ, नुवाकोट, खोटाङ, सिन्धुपाल्चोक, काठमाडौं, मकवानपुर, नवलपरासी र कैलालीसम्मका महिनाको विराटनगरको जोगबनी नाकाबाट उद्धार भएको माइती नेपालले जनाएको छ ।

दिल्लीका होटलमा छापा

बेलाबेलामा दिल्ली हुँदै विदेश जाने महिलाहरुको पनि हुँदै आएको छ । दिल्लीका विभिन्न होटलहरुबाट छापा मार्ने क्रममा ७० जनाभन्दा बढी महिलाको केही महिनाभित्र उद्धार भइसकेको छ ।  केही दिन घि मात्र भारतको दिल्लीबाट तेश्रो देश जाँदै गरेका ४० जनालाई दिल्लीबाट उद्धार गरेको थियो । त्यसअघि ३० जनालाई दिल्लीबाट उद्धार गर्ने क्रममा ३ जना मोरङकै रहेका थिए । दोश्रो चरणमा उद्धार भएका ४० जनामा मोरङका कतिछन् खुलेको छैन ।

यस्तै मानव ओसारपसार तथा बेचबिखनसम्बन्धी एक वर्षमा माइती नेपालबाट २ वटा मुद्दा अदालतमा दर्ता गराएको छ । जसमा भारतमा घर भएका तथा नेपालको रंगेली ससुरालीमा बस्दै आएका मुजफ्फर मियाँको हकमा अदालतले १० वर्षको कैद र ५० हजार  जरिवानाको फैसला सुनाइसकेको संयोजक पोखरेलले बताउनुभयो । अर्को मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया