कार्यालयको मूल ढोका नै बन्द गरेर कुखुरा पाल्छन् रामेछाप मालपोत कार्यालयका हाकिम !

 पुस १५, २०७५ आइतबार १८:५३:१५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मालपोत कार्यालय रामेछापका कार्यालय प्रमुख बद्रीराज ढकालले कार्यालय प्रवेश गर्ने मूल ढोका नै बन्द गरेर कार्यालय परिसरमा कुखुरा पालन गर्दै आउनुभएको छ । 

मालपोत कार्यालय रामेछापमा हाजिर भएदेखि नै कार्यालय परिसरमा कुखुरा पालन गर्दै आएको भन्दै स्थानीयवासीले उहाँको बिरोध गरेका थिए । आलोचनाकोे बेवास्ता गर्दै कार्यालय प्रमुखले कार्यालय भवनभित्र प्रवेश गर्ने मूल ढोका नै थुनेर कुखुरापालन गर्दा सेवाग्राहीहरुलाई यातायातका साधनसहित कार्यालयमा छिर्न समस्या भएको छ । सेवाग्राही कार्यालयमा प्रवेश गर्न बैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

त्यस्तै कुखुरा थुन्नका लागि मूल ढोकामा ताला लाग्ने गरेकोले सेवा लिन आउने अपाङ्ग, जेष्ठ नागरिक र गर्भवती महिलाहरुलाई समेत कार्यालयभित्र प्रवेश गर्न समस्या हुने गरेको छ । खुल्ला रुपमा छाडिएका कुखुराले दिनहुँ कार्यालय परिसर र कार्यकक्ष भित्रै फोहोर गर्दा त्यसको प्रत्यक्ष असर सेवाग्राही र स्वतः कर्मचारीहरुलाई पर्ने गरेको गुनासो सेवाग्राही र कर्मचारीहरुले समेत गर्दै आएका छन् ।

रमाइलो त के छ भने झण्डै ६ महिनाअघि मालपोत कार्यालयको प्रमुख भएर आएदेखि नै कुखुरापालन गर्दै आउनुभएका प्रमुखले रामेछापमा खटिएका माथिल्लो तहका सरकारी कर्मचारीहरुलाई समेत बोलाएर बेलाबेलामा आफ्नै मेसमा कुखुरा काटेर भोज लगाउने गर्नुभएको छ ।

मन्थली नगरपालिका १ का स्थानीयवासी चिरञ्जिवी दाहाल  मालपोत कार्यलयको चर्तिकलाका बारेमा थाहा पाउन कार्यालय भित्रै गएर हेर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । उहाँका अनुसार प्रमुख ढकाल नियमित रुपमा कार्यालयमा समेत बस्नुहुन्न । ढकाल कार्यालयमा नबस्दा सेवाग्राहीहरुको  जग्गा नामसारी, संशोधनलगायतका कामहरु पटक–पटक रोकिँदै आएको छ ।

कार्यालय प्रमुखको गैर जिम्मेवारीपनका कारण टाढा–टाढादेखि जग्गाको काम लिएर आउने सेवाग्राहीहरु सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । त्यस्तै प्रमुख ढकालले कार्यालयभित्र सेवाग्राहीहरुका लागि हेर्न राखिएको टेलिभिजन समेत आफ्नै कोठामा राखेका छन् ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर–५, का स्थानीयवासी दीपक खड्काले आफू केही हप्ताअघि सेवा लिन कार्यालय जाँदा कार्यालय प्रमुखले कार्यालय परिसरभित्र कुखुरापालन गरेको थाहा पाएपछि तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । तर पछि उहाँलाई कार्यालय प्रमुख ढकालले बोलाएर तस्बिर डिलेट गर्न लगाउनुभयो ।

खड्काले भन्नुभयो, ‘मैले तस्बिर फेसबुकमा हालेपछि कार्यालय प्रमुखले कार्यालयमा नै बोलाएपछि तत्काल कुखुरा हटाउने शर्तमा त्यो फोटो आफैले सामाजिक सञ्जालबाट हटाएको थिएँ ।’

घटनाबारे प्रमुख ढकालसँग सम्पर्क गर्दा उहाँले कार्यालको कम्पाउण्ड फराकिलो भएकोले आफूले कुखुरा पालन गरेको बताउनुभयो । उहाँले कामबाहेक आफूले कार्यालय परिसरभित्र कुखुरा पालन गरेर  कृषि व्यवसाय प्रवद्र्धनमा टेवा पुगेको  बताउनुभयो ।

उहाँले कुखुरापालनका कारण कार्यालयमा काम लिएर आउने कुनै पनि सेवाग्राहीहरुको काममा अवरोध नपुगेको दाबी गर्नुभयो । गएको शुक्रबार कार्यालय समयसम्म आफूले बसेर काम गरेको र आइतबार एक दिन आफू बिदामा बस्दा कार्यालयको काममा कुनै बाधा नपुगेको प्रमुख ढकालको भनाई रहेको छ ।

ढोका लगाएर कुखुरा पालन किन गरेको भन्ने प्रश्नमा ढकालले उक्त ढोका आफू आउनुअघि नै सडक निर्माणको क्रममा लागेको बताउनुभयो । उहाँ अहिले बिदा लिएर काठमाडौं पुग्नुभएको छ । बिदामा बस्दा कुखुराको हेरचाहको जिम्मा कार्यालय सहयोगीलाई दिने गर्नुभएको छ ।


 

अन्तिम अपडेट: बैशाख १, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

3 Comments

  • Pratik Tamang

    Dec. 31, 2018, 3:34 p.m.

    मालपोत कार्यालयमा ४ वटा कुखुरा पालेको समाचार हेडलाईन बनेछ । लामो समय देखि रोकिएर वसेको दोरम्मवा र मन्थलीमा अस्पताल निर्माण गर्ने काममा यहि हाकिमले जग्गाको व्यवस्था गरिदिएर निकास दिएको छ, त्यो समाचार वनेन । यो हाकिमले अरु पनि सामाजिक काम गर्दै छ । यसलाई रामेछाप मालपोतमा वस्न दिनै हुँदैन । यसलाई जसरी पनि धपाउनु पर्छ ।रामेछापमा राम्रो काम गर्ने छुट यो हाकिमलाई कसले दियो ? यो वस्यो भने अरु पनि अस्पताल वन्लान अनि मानिस उपचार नपाएर मरेको समाचार कसरी लेख्ने ? रामेछापका सबै पत्रकार मिलेर यसलाई खेद्नै पर्छ खेदौं खेदौं ।

  •  0 Reply
  • Ram Sharma

    Dec. 31, 2018, 2:23 a.m.

    अहिलेका मालपोतका हाकिम त राम्रै काम गर्ने कर्मचारीको रुपमा चिनिन्छन त । निजले कसैसंग घुस खाएको भए वा कसैको हुने काम नगरिदिएको भए वा कसैलाई जानी जानी दुख दिएको भए पो उसको खेदो खन्ने हो । कुखुरा पालेको जस्तो सामान्य विषयलाई ठूल्ठूलो समाचार वनाएर मालपोत हाकिमको चरित्र हत्या गर्ने दुस्प्रयास गरेको देखियो । खै हामी कार्यालयमा जाँदा पहिले भन्दा राम्रो सेवा पाएकै छौं । मालपोत हो सुध्रिनु पर्ने बाँकी त छँदै छ तर कुखुराले काममा डिस्टर्व गरेको चाहिं झूठो हो है। यो समाचारवाट पत्रकारिताको दरिद्रता चाहिं झल्किन्छ । यसलाई भन्छन पित पत्रकारिता ।

  •  0 Reply
  • Ram Sharma

    Dec. 30, 2018, 8:39 p.m.

    पित पत्रकारिताकाे पराकाष्ठा । मालपाेेतमा याे हाकिम आएपछि रुखाे ठाउँलाई हराभरा गराउन अाफै खटेर वृक्षरोपण गरेको समाचार खै ? कार्यालय समय भन्दा २ घण्टा अगावै र कार्यालय समय पश्चात् २ घण्टा पछि सम्म काम गरि गराई सेवा दिएको समाचार खै ? बिगत १६ वर्षमा हुन नसकेका संस्थागत काम याे ५ महिनामा भएका छन, त्यो समाचार खै ? मालपोत हाकिमले कुनै काम ढिला गरेको , घुस खाएको हामीलाई थाहा छैन । उ सकारात्मक कर्मचारी हाे, उसकाे मनाेवल गिराउँदा रामेछापवासीकाे शिर झुक्छ है कथित पत्रकार मित्र ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया