सरकारका मन्त्रीकाे प्रवृत्ति राजा महाराजाको जस्ताे : डाक्टर गोविन्द केसी

 असार २, २०७५ शनिबार १६:२५:२१ | उज्यालो सहकर्मी

काठमाडौं – डाक्टर गोविन्द केसीले वर्तमान सरकार र सरकारमा सहभागी मन्त्रीहरुले पञ्चायतकालीन राजा महाराजाको प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । 

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि शनिबार माईतीघर मण्डलामा मुखमा टेप टाँसेर विरोधमा उत्रिएका केसीले सरकारले जनतालाई रैती ठान्ने गरेको दाबी गर्नुभयो ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्दै सरकार एकतन्त्रीय र स्वेच्छाचारी ढंगले अघि बढेकाले आफुले मुखमा टेप लगाएर विरोध गर्नुपरेको स्पष्ट पार्नुभयो ।

सर्वोच्चले अपराधी ठहर गरेकालाई माफी दिएर सरकारले गणतन्त्रमाथि नै प्रहार गर्ने काम गरेको टिप्पणी उहाँले गर्नुभयो ।

उपत्यकाका ७ स्थान बाहेक अन्यन्त्र सभा, सम्मेलन, प्रर्दशनमा रोक लगाउने सरकारको निर्णयलाई चुनौति दिँदै उहाँ मण्डलामै बसेर जनताको अधिकारका लागि आवाज बुलन्द पार्ने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्छु भन्ने सरकारका मन्त्रीहरुनै भ्रष्टाचार भएको दाबी पनि उहाँले गर्नुभयो । प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरु स्वच्छ छविका भएमा ५० प्रतिशत भ्रष्टाचार कारवाही नगरिकनै कम हुने दाबी गर्नुभयो ।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर पारित गर्नुपर्ने लागायत ६ बुँदे माग अघि सार्दै डाक्टर केसीले पूरा नभए सत्याग्रह सहित आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी दिनुभएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया