दरबारमै छैन रौनक

 पुस १६, २०७५ सोमबार १३:५७:४९ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – दिनहुँ चहलपहल हुने नुवाकोटको साततले दरबार यतिबेला सुनसान छ । भूकम्पलगत्तै आन्तरिक र बाह्य पर्यटकको भिडभाड भए पनि त्यसपछि भने कुनै रौनक छैन । ‘भूकम्प लगत्तै दरबार कस्तो भयो होला भनेर चासो बढ्दा केही महिना चहलपहल भयो’ स्थानीय हरीमान सिंह डंगोलले भन्नुभयो, ‘त्यसपछि भने उत्साह नै छैन । हेर्ने, घुम्ने नै नआउँदा हामीलाई पनि रमाइलो छैन ।’ 

नुवाकोट दरबारले यसरी चहलपहल र रौनक गुमाउँदै गएको तीन वर्ष बितिसकेको छ । दरबार वरपरका बासिन्दालाई भत्किँदै र जीर्ण हुँदै गएको दरबार टुलुटुल हेरेर बस्नुपर्ने अवस्था छ ।

चर्किएको दरबार भत्किँदै

दरबार चिराचिरा छ । पाँचौं र छैटौं तला चर्किएका छन् । भूकम्पले नभत्किएको दरबारमा अहिले एक, एक ईंट्टा खस्दै गएका छन् । धराप र जीर्ण दरबार टेकोको भरमा उभिरहेको देखिन्छ । दरबार नै धराप भएकाले नजिक जान जोखिम छ । 

अहिले साततले दरबार रहेको नुवाकोटडाँडा नुवाकोटको पुरानो सदरमुकाम हो । विगतमा नुवाकोट दरबार पसिरसमा रहेको सदरमुकाम अहिले भने विदुरमा छ । विदुर नगरपालिका २ नुवाकोटडाँडामा रहेको दरबार पुनर्निर्माणको काम सुरु गर्ने भनेर धेरैपटक छलफल र चर्चा हुँदै आयो । तर अझै पनि काम सुरु भने भएको छैन । भूकम्पले क्षति गरे पनि नभत्केको दरबार तीन वर्ष ८ महिनासम्म पनि बनाउने पहल नहुँदा भत्किँदै गएको विदुर नगरपालिका २ का वडाअध्यक्ष वीरेन्द्र कुमार शाहीले बताउनुभयो । ‘केन्द्रबाट टोली आउँछ, चीन सरकारले बनाइदिन्छ भन्छन्’ उहाँले भन्नुभयो,‘तर कहिले बनाउने काम थाल्ने हुन् थाहै भएन ।’

नौ तले दरबार भूकम्पकै कारण ७ तले

काठका कलात्मक बुट्टा र गजुर सहितको नौ तले दरबार तत्कालीन राजा पृथ्वीनारायण शाहले बनाउन लगाएका हुन् । शाहले विक्रम संवत् १८०१ मा नुवाकोट विजय गरेपछि १८१९ मा नौतले दरबार निर्माण गराएका थिए । १८२५ मा काठमाडौं विजय प्राप्त गर्नुअघि नौतले दरबारबाट राजकाज चलाएको इतिहास छ । तर १९९० सालको भूकम्पले दरबारको गजुर र सिरानको तला बुर्जा झारेपछि सात तले बनाइएको थियो ।

त्यसपछि सात तले दरबार नाम रहेको स्थानीयबासिन्दा बताउँछन् । विदुर नगरपालिकाका उपमेयर गीता दाहालले दरबार र वरपरको सम्पदा क्षेत्र पुनर्निर्माणमा ढिलासुस्ती भैरहेको बताउनुभयो । स्थानीय सरकारको हैसियतमा दरबार पुनर्निर्माणमा पहल भने गरिरहेको उहाँको दावी छ ।

टोली जाने तर काम सुरु नहुने

सात तले दरबार पुनर्निर्माणको काम गएको भदौमै सुरु गर्ने भनिएको थियो । तर काम सुरु हुन अझै तीन महिना लाग्ने भएको छ । गएको भदौमा पनि एक टोली दरबारको अवस्था बुझ्न नुवाकोट दरबार पुगेको थियो । त्यसपछि पुस पहिलो हप्ता प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सहितको टोली दरबार पुगेको छ । 

प्राधिकरणका सिइओ सुशील ज्ञवालीले चीन सरकारकै सहयोगमा आगामी चैतबाट पुनर्निर्माणको काम सुरु हुने बताउनुभएको छ । चीन सरकारको नयाँ वर्ष सुरु भएकाले काममा ढिला भएको र अब छिट्टै काम सुरु हुने सिइओ ज्ञवालीको दावी छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया