साउदीमा शिवले ‘हरि’ जपेको त्यो दिन

 पुस १६, २०७५ सोमबार १६:३८:४४ | मोहन पौडेल

काठमाडौं – वैदेशिक रोजगारीमा जानेहरु नेपालीहरु नेपालमा भनेको काम र दाम पाउनुलाई भाग्य सम्झिन्छन् । परिस्थिती पनि त्यस्तै छ । नेपालमा म्यानपावरले धेरैलाई सुन्दा राम्रो लाग्ने काम भनेर पु¥याउँछन् । तर त्यहाँ पुगेपछि भनेको काम र दाम मिल्दैन् । 

तर संखुवासभाका शिवराज राईले साझा जस्तै बनेको समस्यामा पर्नुभएन । यस अर्थमा उहाँले आफूलाई भाग्यमानी सम्झिनुभयो । तर उहाँको भाग्यले त्यहाँ मात्रै साथ दिएन । दुर्घटनामा परेर गाडी क्षतिग्रस्त हुँदा पनि शिवराजलाई चोट पनि लागेन । 

२०६८ को नयाँ वर्ष संखुवासभाको चैनपुर नगरपालिकाका शिवराज राईका लागि विदेश गएर राम्रो कमाउने अठोट गर्ने वर्ष बन्यो । हुन त त्यतिबेला उहाँ राहत कोटाको शिक्षक हुनुहुन्थ्यो ।

शिक्षकको तलबले परिवारको दुई छाक टर्‍यो । बिरामी हुँदा उपचार गर्ने पैसा भएन । यही बाध्यताले शिवराजले विदेश जाने निधो गर्नुभयो । शिवका साथी साउदीमा थिए । तिनै साथी मार्फत शिव ०६८ को वैशाखमा साउदी पुग्नुभयो । पुष्करसँग लेबरको सम्झौता पत्र थियो ।

सम्झौता पत्रले देखाउन नसक्ने सीप थियो अङ्गे्रजी भाषा । भाषाकै कारण उहाँको सङ्गत कम्पनीका माथिल्लो तहका कर्मचारीसँग धेरै भयो । उनीहरु प्राय फिलिपिन्सका थिए । 

अङ्ग्रेजी राम्रो भएकाले शिवले लेबरको काम गर्नु परेन । उहाँलाई ‘कोअर्डिनेटर’को काम दिइयो । तलब ८ सय ५० रियाल थियो । शिवले त्यहाँ काम गर्दा जापान ग्यास वेल कर्पोरेसन गल्फ कम्पनीका म्यानेजर आइरहन्थे । तीन महिना नपुग्दै त्यहाँ आइरहने कम्पनीका म्यानेजरले शिवलाई आफैंसँग लाने प्रस्ताव गरे । 

सुरुमा गएको कम्पनीको सहमतिमा उहाँ जापान ग्यास वेल कर्पोरेसन गल्फ कम्पनीमा सर्नुभयो । दोस्रो कम्पनीमा सरेपछि शिवराजले कोर्डिनेटरभन्दा माथिल्लो पद मेटेरियल्स म्यान पाउनुभयो । ‘ प्रोजक्टमा यो पद प्लानिङ म्यानेजमेण्टपछिको पद हो ।’ शिवराजले आफ्नो पद बारे प्रष्ट्याउँदै भन्नुभयो, ‘प्रोजेक्टरमा प्रयोग हुने सामानको व्यवस्थापनको प्रमुख पद नै मेटेरियल्स म्यान हो ।’

यो काममा शिवराजको तलब दोब्बर थियो अनि खान, बस्न सबै सुविधा पनि । यसले उहाँको बसाई मात्रै होइन कमाइ पनि राम्रै भयो । ३ हजारदेखि ५ हजार साउदी रियाल कमाइ हुँदा शिवराजले महिनामा एक लाख रुपैयाँसम्म जोगाउनुभयो । 

यही काममा शिवराजका ६ वर्ष साउदीमा बिते । ६ वर्षमा त्यो कम्पनीले सञ्चालन गरिरहेको परियोजना सक्कियो । उहाँलाई अर्को परियोजनामा कामको प्रस्ताव आयो तर उहाँले गर्नुभएन । शिवराज घर फर्किनुभयो । कारण थियो भाग्यले ज्यान जोगिएको त्यो दुर्घटना । 

यसरी भयो दुर्घटना 

सन् २०१४ को कुरा हो । शिवराजले काम गर्ने कम्पनीले कुवेतको सीमा पर्ने ठाउँमा परियोजना सञ्चालनको तयारी गर्दै थियो । त्यही कामका लागि शिवराज, उहाँका फिलिपिन्सका साथी जाँदै हुनुहुन्थ्यो । 

गाडी फिलिपिनी ड्राइभरले चलाएका थिए । १२ बजे राती हिँडेका उहाँहरु त्यो ठाउँमा पुग्न ड्राइभरले भने अनुसार आधा घण्टा जति मात्रै बाँकी थियो । शिवराज त्योभन्दा अघि निदाउनुभएछ । निद्रामा के हुन लागेको जस्तो भएपछि झस्किएर उठ्नुभयो । 

त्यतिबेलै घरबाट श्रीमतीले फोन गर्नुभयो । श्रीमतीले आफूले नराम्रो सपना देखेको सुनाउनुभयो शिवराजलाई । ‘मैले पनि त्यस्तै सपना त देखेको थिएँ तर उनलाई चाहिँ केही हुँदैन । सपना त सपना नै हो भनेर सम्झाएँ’ शिवराज भन्नुहुन्छ । 

आफ्नो र श्रीमतीको सपना नराम्रो भएपछि उहाँले ड्राइभरलाई पुग्ने समय सोध्नुभएको थियो । त्यसको केही मिनेटपछि नै ठूलो आवाज आए जस्तो भयो । गाडी पल्टियो । गाडी तीन बल्ड्याङ खाँदासम्म शिवराजले थाहा पाइरहनुभएको थियो । 

त्यसपछि बेहोस भएका शिवराज होसमा आउँदा गाडी मरुभूमिको बालुवाको डिलमा गएर जोतिएको थियो । ‘होस आउँदा गाडी उछिट्एिर बालुकामाथि पुगेको रहेछ । सिट बेल्ट बाँधेकोले म त जस्ताको तस्तै सिटमै रैछु तर गाडी चाहिँ पुरै कुच्चिएको रहेछ’ शिवराजले सुनाउनुभयो ‘त्यतिञ्जेलसम्म कोही आइपुगेका थिएनन । जीउ थर्रर काँपिरहेको थियो । मलाई हरि हरि बाहेक अरु केही भन्नै आएन ।’

त्यसको केहीबेरमा आएका व्यक्तिले गाडीमा कति जना थियौ ? भनेर सोध्दा शिवराजलाई तीन जना आएको भन्ने होस पनि थिएन । उहाँले दुई जना भनेपछि थिचिएका ड्राइभरलाई निकालियो ।

ड्राइभरलाई निकाल्ने क्रममा अर्का साथीलाई पनि उद्धार गरियो । ड्राइभरको हात भाँचियो । अर्का साथीको हातसँगै ढाड पनि भाँचियो । तर शिवराजलाई कुनै ठूलो चोट लागेन । उहाँको हातमा सामान्य चोट मात्रै लाग्यो । 

सुविधासहितको काम अनि कमाई पनि गज्जबको । तर दुर्घटनामा परेपछि शिवराजलाई यी सबै कुरा ज्यानभन्दा ठूलो लागेन । त्यसैले अर्को कामको अवसर हुँदा हुँदै उहाँ झण्डै दुई वर्षअघि घर फर्किनुभयो । उहाँ अहिले संखुवासभामै निर्माणको काम गर्नुहुन्छ । 


 

अन्तिम अपडेट: जेठ ११, २०७६

मोहन पौडेल

उज्यालोमा कार्यरत मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया