गुरुत्वाकर्षणको नियम न्यूटनले पत्ता लगाएको होइन, भास्कराचार्यले हो तर प्रचार भएन : प्रधानमन्त्री ओली

 पुस १६, २०७५ सोमबार १८:१३:२ | मदन पौड्याल

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्नुभयो,‘ ग्र्याभिटेशनको सिद्धान्त कसले पत्ता लगायो ?’

सहभागीबाट उत्तर आउन नपाउँदै उहाँ आफैले जवाफ दिनुभयो, ‘तपाईँहरुले भन्नुहुनेछ न्यूटनले । तर होइन न्यूटनभन्दा ६/७ सय वर्ष अगाडि नै भास्कराचार्य भन्ने हाम्रा विद्धानले ग्र्याभिटेशनसम्बन्धी सिद्धान्त पत्ता लगाउनुभएको थियो ।’

प्रधानमन्त्री ओलीले भास्कराचार्यले १२१० मा नै ‘ग्र्याभिटेशन थिएरी’ भनेर किताब प्रकाशन गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘गुरुत्वाकर्षणको सिद्धान्त के हो ? पृथ्वी कस्तो छ ? ती सबै पत्ता लगाउनुभएको थियो तर यत्तिकै बस्यो । जसले गर्दा ६/७ सय वर्ष पछाडि पत्ता लगाउने न्यूटन गुरुत्वाकर्षण सिद्धान्तका आविष्कारक भए । हाम्रा पुर्खाहरुले तारा, ग्रह नक्षेत्र हेरेरै तिनको असर र प्रभाव विश्लेषण गर्थे । औषधि विज्ञानमा उस्तै ज्ञान थियो तर प्रचारप्रसार भएन ।’   

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुर्खाले पैदा गरेका तथा उत्पादन गरेका ज्ञान र सिद्धान्तको दावी पनि गर्न नसकेर, प्रचार पनि गर्न नसकेर पछाडि परेको बताउनुभयो ।

पुराना ज्ञान तथा सीपको सही सदुपयोग र प्रचार गर्न नसक्दा पछाडि परेको भन्दै उहाँले आफ्नो ज्ञान र सीपको सदुपयोग गर्न दीक्षित भएका विद्यार्थीलाई आग्रह गर्नुभयो । दीक्षित जनशक्तिले कक्षाकोठा बाहिर, विद्यालय बाहिर र विश्वविद्यालय बाहिर नै ज्ञानको सागर छ भन्ने बुझेर अब पौडी खेल्न तयार हुनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको ४४ औँ दीक्षान्त समारोहमा नौ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित भएका छन् । २०७४ साल जेठ १८ देखि ७५ जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका ७४ हजार २ सय ८२ विद्यार्थी मध्ये ९ हजार ५ सय ५ जना विद्यार्थी दीक्षित भएका हुन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

2 Comments

  • ज्योति

    Jan. 1, 2019, 12:20 p.m.

    जानेर नजानेर यिनले भनेको यो चाहिँ कुरा ठिक हो | भाष्कराचार्यले न्युटन जन्मनु अघि नै यो पत्ता लगाएका हुन् |

  •  0 Reply
  • Govinda

    Dec. 31, 2018, 7:10 p.m.

    The ultimate joke for 2018

  •  0 Reply

तपाईको प्रतिक्रिया