सुत्केरी भैँसीलाई तीन हजार भत्ता, पाडापाडीको पनि जन्मदर्ता !

 पुस १७, २०७५ मंगलबार १८:४:२५ | पुरुषोत्तम गिरी

सल्यान – सल्यानको बागचौर नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता वितरण गरेको छ । प्रति सुत्केरी भैँसी तीन हजारका दरले भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ । पुस १ गतेदेखि सुत्केरी भएका भैँसीलाई भत्ता वितरण गरिएको नगरपालिकाका मेयर लोकमान बुढाथोकीले बताउनुभयो ।

‘व्यावसायिक भैँसीपालनलाई प्रोत्साहन गर्न सुत्केरी भैँसीलाई भत्ता दिन शुरु गरेका हौँ’, मेयर बुढाथोकीले भन्नुभयो, ‘यसले व्यावसायिक दूध उत्पादनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’ पहिलो चरणमा नौ सुत्केरी भैँसीलाई भत्ता दिएको उहाँले बताउनुभयो ।

भैँसी गोठमै मेयर भत्ता बोकेर गएपछि किसान दङ्ग

घरको भैँसीले सुत्केरी हुँदा तीन हजार भत्ता पाएपछि भैँसीपालन किसान भने दङ्ग परेका छन् । नगरपालिकाका मेयर लोकमान बुढाथोकी भत्ता बोकेर भैँसी गोठमै पुगेपछि किसानहरु दङ्ग परेका हुन ।

भत्ता पाएपछि बागचौर नगरपालिका ९ का भैँसीपालक किसान वेदप्रसाद डाँगीले आफूलाई ‘सरकार छ’ भन्ने आभाष भएको बताउनुभयो । भैँसीले भत्ता पाएपछि आफूलाइ थप भैँसी पाल्नका लागि प्रौत्साहन मिलेको उहाँले बताउनुभयो ।

डेढ सय भैँसीका लागि साढे चार लाख विनियोजन

नगरपालिकाले डेढ सय भैँसीलाई पुग्ने गरी रकम विनियोजन गरेको छ । प्रति भैँसी तीन हजारका दरले डेढ सय भैँसीका लागि साढे चार लाख रकम समेत छुट्याएको नगरपालिकाका कार्यकारी अधिकृत भिष्मकुमार मल्लले बताउनुभयो ।

भैँसी सुत्केरी भएपछि नगरपालिकामा जानकारी गराएपछि सामान्य प्रकृया पुर्‍याएर भत्ता वितरण शुरु गरीएको उहाँले बताउनुभयो । बागचौर नगरपालिकाभित्रका १२ वटा वडामा ५ सय बढी भैँसी रहेको नगरपालिकाले बताएको छ ।

भत्ता वितरण गरेपछि अब भैँसीपालनले थप व्यावसायिकता पाउने नगरपालिकाको पशुपंक्षी विकास शाखाका प्रमुख लोकेन्द्र डाँगीले बताउनुभयो ।

पाडापाडीको जन्मदर्ता गरिने

नगरपालिकाले भैँसीका पाडापाडीको जन्मदर्तालाई समेत अनिवार्य बनाउने अभियान थाल्ने भएको छ । सुत्केरी भैँसीलाई भत्ताको लागि प्रकृयामा आउँदा पाडापाडीको जन्म दर्ता समेत गरिने छ ।

डाँगीले भन्नुभयो, ‘यसले भैँसीको तथ्यांक र व्यावसायिक पशुपालन, दुग्ध उत्पादन, पशु बीमा आदि क्षेत्रमा सहयोग पुग्ने हाम्रो विश्वास छ । यसका साथै आफूहरुले भैँसीपालनमा आकर्षण बढाउन कृत्रिम गर्भाधान गराउने कार्यपनि गरिरहेको उहाँले बताउनुभयो । कृत्रिम गर्भाधानको कार्यक्रम पनि प्रभावकारी भैरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया