प्रदेशस्तरीय तेक्वान्दो उपाधि ललितपुरलाई

 असार ३, २०७५ आइतबार ७:५१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रथम ३ नं प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा ललितपुर ३ स्वर्ण, ६ रजत पदक जित्दै ललितपुर तेक्वान्दो संघले प्रथम स्थान हात पारेको छ । 

नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ ले भक्तपुरको योयो ब्याङ्केटमा शनिबार सम्पन्न प्रतियोगितामा ३ स्वर्ण २ रजत र ४ कास्य पदकसहित ९ पदक जित्दै काठमाडौं तेक्वान्दो संघ दोस्रो र २ स्वर्ण र २ कास्य पदक हात पार्दै भक्तपुर तेक्वान्दो संघ तेस्रो भएको छ । 

प्रदेश नं ३ का १२ जिल्लाका १५० जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा काभ्रेले २ स्वर्ण, नुवाकोट, मकवानपुर र धादिङले समान एक स्वर्ण पदक जितेका छन् । 

महिलातर्फ ४६ केजी तौल समूहमा काभ्रेकी रेजुना ठकुरी उत्कृष्ट, ललितपुरकी गीता बलामी दोस्रो, काठमाडौंकी अस्मिता महर्जन तेस्रो खेलाडी, ४९ किलो तौल समूहमा काठमाडौँकी पूजा कुँवर प्रथम, चितवनकी लक्ष्मीदेवी श्रेष्ठ दोस्रो, भक्तपुरकी कसिस श्रेष्ठ र नुवाकोटकी सिर्जना तामाङ तृतीय भएका छन् । 

त्यस्तै, ५३ किलो तौल समूहमा काठमाडौंकी आयुषा लामा प्रथम, मकवानपुरकी सञ्जु तुम्सी मगर दोस्रो र चितवनकी रायसी लिम्बू तथा सिन्धुपाल्चोककी अनिशा गिरी तेस्रो भएका छन् । 

पुरुषतर्फ भने ५८ किलो समूहमा काभ्रेका कपिल थापा प्रथम, ललितपुरका पवन राई दोस्रो, दोलखाका राजेश तामाङ र चितवनका अनिल महतो तेस्रो भएका छन् भने ६३ किलो समूहतर्फ नुवाकोटका निशान शाक्य प्रथम, ललितपुरका सुमन लामा दोस्रो, सिन्धुपाल्चोकका सुजन रायमाझी र मकवानपुरका अनुप आलेमगर तेस्रो भएका छन् । 

ग्योरोगी तथा पुम्सेका विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले पदक, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुभयो । कार्यक्रममा समाजसेवी श्रीभक्त कासिछ्वा र विज्ञान राईलाई सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया