कहिले पूरा होला रजनीको डाक्टर बन्ने सपना ?

 पुस १९, २०७५ बिहिबार १४:४१:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी – ‘देशमा लोकतन्त्र आयो, गाउँघर आएन । रातदिन कामकै झर्को, पढ्न त पाइएन’, डोटी पूर्वीचौकी गाउँपालिका–७, कि १५ वर्षीया रजनी बिक अचेल यस्तै शब्दलाई लय मिलाएर गीत गाउने गर्छिन ।

बिक देशमा आएको राजनीतिक परिवर्तनले आफूजस्ता बिपन्न किशोरीहरुलाई केही नदिएको बताउँछिन् । लेख्ने पढ्ने रहर हुँदाहुँदै पनि आफूले पढ्न नपाएको उनको गुनासो छ । उनी गीतका माध्यमबाट हिजो–आज आफ्ना गुनासाहरु पोख्ने गर्छिन ।

रजनी सानै उमेरमा विद्यालय त गइन् तर नियमित विद्यालय जान नपाउँदा उनले आफूले चाहे अनुसार पढ्न सकिनन् । स्थानीय मण्टामाण्डौं माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनत उनी आफ्नो उमेरका साथी–संगी माथिल्लो कक्षामा पढ्दै गरेको देख्दा दिक्दार हुन्छिन् ।

भन्छिन्, ‘मेरो दिमागमा पढेर डाक्टर बन्ने सपना थियो तर नियमित रुपमा विद्यालय जान पनि पाउँदिन ।’ त्यही पनि उनले डाक्टर हुने सपना छाडेकी छैनन् ।
सामुदायिक विकास केन्द्र डोटीको सहयोगमा भर्खरै पूर्वीचौकी गाउँपालिकामा गरिएको महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा उनको विद्यालयले आयोजना गरेको प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा एकल गीतको माध्यमबाट आफ्नो पीडा पोखेकी थिइन ।

उनले सुनाइन, ‘मभन्दा तीनवर्ष कान्छो भाइ कक्षा ८ मा पढ्दैछ । उसको पढाई पनि ठिकै छ तर म ७ मा पढ्दैछु ।’ रजनी थप भन्छिन्, ‘हामी छोरीहरुले घरको काम गर्नुपर्छ, घरको कामबाट बचेको समयमा मात्रै विद्यालय आउने हो । छोरा मान्छेलाई त जतिबेला पनि फुर्सदै–फुर्सद हुन्छ ।’

अनि गीतको लयमा उनका शब्द फुर्छन, ‘आधा आकाश ढाक्ने महिला नोकर जस्तै छन । सोद्दे–पोद्दे (सोध्ने–बुझ्ने) केही हुँदैन नारा त सस्तै छन । नारा जति लगाए पनि महिलाहरु अहिले पनि नोकरसरह रहेको उनले गीतको माध्यमबाट बताइन । उनी विद्यालयले आयोजना गर्ने हरेक क्रियाकलापमा आफ्नो रचना प्रस्तुत गर्छिन् । 

भन्छिन्, ‘यसरी सुनाएपछि कुनै दिन समाज परिवर्तन होला भन्ने आश गरेकी छु ।’ गाउँमा रक्सी–जाँड खाएर पुरुषले महिलाहरुमाथि गरेको हिंसाबाट पनि उनी आक्रोशित छिन् । उनी सरकालाई प्रश्न गर्छिन, ‘सरकारले रक्सी किन बन्द गर्न सक्दैन ? रक्सीले कतिका घरबार बिग्रिसके तर पनि सरकार मौन छ ।’

नियमित विद्यालय आउन नपाउँदा रजनीले पढ्न नसकेको विद्यालयका प्राचार्य कर्ण भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘रजनी मेहनत गर्छिन तर नियमित विद्यालय आउँदिनन्, । विद्यालय नियमित नहुँदा उनको पढाईमा केही घाटा भएको छ ।’ 

अन्तिम अपडेट: चैत २, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया