रेशम चाैधरीले ढाका टोपी लगाएर थारु भाषामा लिए सपथ

 पुस १९, २०७५ बिहिबार १५:३०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चुनाव जितेको एक वर्षपछि कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले बिहीबार सांसदको सपथ लिएका छन् । ढाका टाेपीमा सजिएर आएका चाैधरीले थारु भाषामा सपथ लिएका हुन् । 

सभामुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा चाैधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए ।

सपथ खुवाउन उनलाई डिल्लीबजार कारागारबाट प्रहरीले सिंहदरबार ल्याएको थियो । सपथ ग्रहणमा राजपाका अध्यक्ष मण्डलका स‌ंयाेजक राजेन्द्र महताे, महन्थ ठाकुरका साथै सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित हुनु भएको थियो ।  

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । २०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारागारमा तीन वर्षदेखि कारागारमा छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया