गप्टिल र निशामकाे शानदार प्रदर्शनमा न्यूजिल्याण्डले श्रीलंकाविरुद्धकाे पहिलाे एक दिवसीय खेल जित्याे

 पुस १९, २०७५ बिहिबार १६:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाविरुद्धको तीन एक दिवसीय खेलको श्रृङखलामा घरेलु टोली न्यूजिल्याण्डले १–० को अग्रता लिएको छ ।

बिहीबार भएको पहिलो एक दिवसीय खेलमा श्रीलंका ४५ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मार्टिन गप्टिलको १ सय ३८ रनको सहयोगमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३७१ रनको विशाल योगफल बनाएको थियो ।

गप्टिलले १३९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । कप्तान केन विलियमसनले ७६ र रस टेलरले ५४ रन बनाए । जेम्स निशामले १३ बलमा ४७ रनको अविजित पारी खेले ।

बलिङतर्फ श्रीलंकाका लसिथ मालिंगा, नुवान प्रदीप र थिसरा परेराले दुई-दुई विकेट लिए ।

३७२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले इनिङको अन्तिम बलमा सबै विकेट गुमाउनुअघि मात्र ३२६ रन बनायो ।

कुशल परेराले १०२ रनको शतकीय पारी खेले पनि श्रीलंकाको हार टरेन । ओपनर निरोशन डिकवेल्लाले ७६ र धनुस्का गुणतिलकाले ४३ रन बनाए पनि श्रीलंकाका मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

बलिङमा न्यूजिल्याण्डका जेम्स निशामले ३ विकेट लिए । ट्रेन्ट बोल्ट, लकी फर्गुसन र इश सोधीले दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया