देशमा उत्पादन पद्धतिअनुसारको शिक्षा प्रणाली छैन : राष्ट्रपति भण्डारी

 पुस १९, २०७५ बिहिबार १६:७:५१ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – राष्ट्रिपत विद्यादेवी भण्डारीले देशको ठूलो जनशक्ति विदेश पलायन भएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

रोजगारीको शिलशिलामा देशका लाखौं युवा विदेश पलायन भइरहेकाले देशमै स्वरोजगार हुने खालको शिक्षा प्रणाली अगाल्नु पर्ने उहाँले बताउनुभएको हो । उहाँले भएका युवा शक्ति विदेश पलायन हुने र स्वदेशमै दक्ष जनशक्तिको अभाव हुनुले अहिलेको युगको माग र आवश्यकतालाई धान्ने खालको शिक्षा प्रणाली नभएको औल्याउनुभयो ।

पूर्वाञ्चल विश्व विद्यालयको रजत जयन्तीको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको जनशक्ति आफ्नै देशमा खपत हुनेखालको शिक्षा दिन पूर्वाञ्चल विश्वविद्यालयलाई सुझाव दिनुभयो ।

विश्वविद्यालय ज्ञान, विज्ञान, अध्ययन अनुसन्धान, चिन्तन र मननको स्थल भएकोले त्यही मापदण्ड अनुसार नै विश्वविद्यालयले अध्ययन अध्यापन पद्धतिमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गुणस्तरिय पठन–पाठनको अभाव, आवश्यक शैक्षिक पूर्वाधारको कमी,  प्रतिस्पर्धी अध्ययन, अध्यापन कार्य नहुँदा कलिला बालबालिकादेखि युवासम्म अध्ययनको लागि विदेश पलायन हुने प्रवृति देशको लागि दुखद रहेकोले यस्तो अवस्था रोक्न विश्व विद्यालयले भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो  ।

‘देशले उत्पादन पद्धतिसँग हाम्रो शिक्षा प्रणाली उपयुक्त नभएको हो कि भन्ने मलाई लागेको छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘यसको दायित्व अहिले शिक्षा प्रदान गर्ने विश्वविद्यालयहरुले लिनुपर्छ ।’

प्राकृतिक श्रोत साधनले अपार सम्भावना रहेको तथा अन्नको भण्डारको रुपमा प्रख्यात पूर्वाञ्चलमा अब कृषिको विषयलाई अध्ययन र छलफलको विषय बनाइ यसलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने ठोस परिवर्तन ल्याउन सकिने उहाँको तर्क छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया