कोदालाेले खनेर गाउँपालिका अध्यक्षले नै भत्काइदिए निर्माणाधीन भवन

 पुस १९, २०७५ बिहिबार २०:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौला आफैले भत्काउनुभएको छ ।

तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुब कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भवन भत्काउनुभएको हो ।

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफू खुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताउनुभयो । प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टरलगायतको भाग भत्काइ दिनुभएको स्थानीयले बताएका छन् ।

भवन निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भवन भत्काएर पुनः निर्माण गर्न आग्रह गर्नुभएको छ । भवनको भुइँतलामा ढुङ्गा बिच्छ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताउनुभयो ।

भुइँमा बिच्छ्याइएको ढुङ्गामाथि चार इन्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इन्च मात्र गरिएको र ढलानको सामग्री समेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ ।

निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रो पटक थपिएको अवधि समेत गएको मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एक तले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया