‛मन्त्री बाँस्कोटा र दिगम्बर झाको सपना पूरा गर्न दूरसञ्चार प्राधिकरणमा फेरि चलखेल′

 पुस १९, २०७५ बिहिबार २१:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – यही सरकारले अयोग्य भनेर बर्खास्त गर्ने, अनि यसै सरकारले नै योग्य भनेर नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेका दिगम्बर झाले राजीनामा दिइसक्नुभएको छ ।

दिगम्बर झाको नियुक्तिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा प्रवेश पायो र यसलाई सरकारले अघि सारेको सुशासनको नारामा जोडियो । चौतर्फी आलोचनापछि झाले दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट राजीनामा दिनुभयो ।

तर उनै विवादित झा र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको सपना पूरा गर्न नेपाल दुरसञ्चार प्राधिकरणमा वरीयता नै मिचेर निमित्त अध्यक्ष नियुक्त गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको विनियमावलीमा अध्यक्ष पद रिक्त रहेको अवस्थामा वरिष्ठ निर्देशक नै स्वतः निमित्त अध्यक्ष हुने व्यवस्था छ । तर मन्त्रालयस्तरीय निर्णयबाट वरिष्ठ निर्देशक आनन्दराज खनाललाई मन्त्रालयमा तानेर  प्रशासन तथा अनुमति शाखाका प्रमुख पुरुषोत्तम खनाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको छ ।

आनन्दराज खनालले यसअघि अरु सरकारका पालामा पनि मन्त्रीले गर्ने  खराब निर्णयको विरोध गर्दै आउनुभएको थियो । यसपटक पनि सुरुमा सूचना प्रविधि विज्ञका रुपमा काज सरुवा गर्ने निर्णय गरे पनि पछि अर्को आदेश नहुँदासम्म मन्त्रालयमा सूचना प्रविधि सम्बन्धि कार्य गर्ने गरी काजमा पठाउन प्राधिकरणलाई भनिएको छ ।

खनालले मंगलबार नै मन्त्रालयमा हाजिर गरिसक्नुभएको छ । इन्टरनेटमा सरकारले १३ प्रतिशत थप कर लगाउँदा निर्देशक खनालले विरोध गर्नुभएको थियो । त्यसबेलादेखि नै मन्त्री बाँस्कोटा उहाँसँग रुष्ट भएको मन्त्रालय स्रोतले जनाएको छ । यस्तै गएको आर्थिक वर्षमा अर्थ मन्त्रालयले आफ्नो राजश्वको लक्ष्य पूरा गर्न प्राधिकरणबाट ३ अर्ब रुपैयाँ सरकारको खातामा जम्मा गर्न आएको प्रस्तावलाई खनालले अस्वीकार गर्नुभएको थियो ।

यस्तै दूरसञ्चार प्रदायकको लाइसेन्स र शुल्क असुलीका विषयमा पनि कानुनभन्दा तलमाथि गर्न हुन्न भनेर खनालले बेला बेला मन्त्री र सचिवसँग खरो कुरा राख्दै आउनुभएको थियो । ‘मैले कानुनभन्दा माथि कोही छैन, हामीले बनाएका कानुनको पालना हामीले नगरे कसले गर्छ भन्ने प्रश्न बारम्बार उठाउँदै आएको हो, कसैलाई मेरो अडान मन परेन होला त्यसैले मलाई वरिष्ठ निर्देशक हुँदाहुँदै पनि प्राधिकरणको निमित्त अध्यक्ष नदिएर मन्त्रालय तानिएको हुन सक्छ’, खनालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

के हो मन्त्री बाँस्कोटा र झा को स्वार्थ ?

नेपाल दूरसञ्चार प्राधिकरणमा मन्त्री बाँस्कोटा र निवर्तमान अध्यक्ष दिगम्बर झाको सपना पूरा गर्न जुनियरलाई सिनियर पदमा नियुक्त गरिएको प्राधिकरण स्रोतले उज्यालो अनलाइनसँग भन्यो ।

अहिले पनि दुरसञ्चार प्राधिकरणमा ग्रामीण दूरसञ्चार कोषमा रहेको साढे २१ अर्ब रुपैयाँ रकम रहेको छ । यो रकम व्यावसायिक प्रयोजनको लागि प्रयोग गर्ने पूर्वअध्यक्ष झाको योजना रहेको थियो ।

उहाँले राजीनामा दिए पनि कोषको रकम मन्त्री बाँस्कोटा र झाकै योजना अनुसार चलाउनको लागि निमित्त अध्यक्षको ठाउँमा प्रशासन तथा अनुमति शाखाका प्रमुख पुरुषोत्तम खनाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको हुन सक्ने आशंका छ ।

ग्रामीण दूरसञ्चार कोषमार्फत अहिले अप्टिकल ब्याकबोन नेटवर्क योजना अन्तर्गत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छाउने काम भैरहेको छ । जसअनुसार प्रदेश १, २ र ३ मा अप्टिकल ब्याकबोन नेटकर्वको लागि नेपाल टेलिकमले ४ अर्ब ८७ करोड रुपैयाँमा जिम्मेवारी पाएको छ ।

यस्तै गण्डकी र ५ नम्बर प्रदेशमा यूटीएल, एनसेल र वर्ल्ड लिंकले ३ अर्ब रुपैयाँमा जिम्मेवारी पाएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्मार्ट टेलिकमले ३ अर्ब ७ करोड रुपैयाँमा अप्टिकल ब्याकबोनको जिम्मेवारी पाएका छन् ।

यी आयोजनामा पनि मन्त्री र पूर्व अध्यक्ष झाको स्वार्थ रहेकोले त्यो पूरा गर्न पनि प्राधिकरणमा चलखेल भएको हुनसक्ने शंका उठेको छ । यस्तै फ्रिक्वेन्सी वितरण र नवीकरणमा पनि अर्बौं रुपैयाँ जोडिएको छ ।

त्यसमा पनि दिगम्बर झाको स्वार्थ पूरा गर्न प्राधिकरणमा स्वतः निमित्त प्रमुख भएका आनन्दराज खनाललाई मन्त्रालय तानेर प्रशासन तथा अनुमति शाखाका प्रमुख पुरुषोत्तम खनाललाई निमित्त अध्यक्षको जिम्मेवारी दिइएको प्राधिकरण स्रोतले जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया