विश्वकप फुटबल २०१८ : छैटौँ उपाधिको लक्ष्यमा ब्राजिल

 असार ३, २०७५ आइतबार ९:२०:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको दाबेदार ब्राजिलले स्वीट्जरल्याण्डविरुद्धको खेलबाट विश्वकपको यात्रा सुरु गर्दैछ । चार वर्ष घरेलु भूमिमा व्यहोरेको ७–१ को अपमान बिर्सिने रणनीतिका साथ ब्राजिल स्वीट्जरल्याण्डविरुद्ध उत्रिनेछ ।

जर्मनीविरुद्धको खेलमा भोगेको पीडा बिर्साउन ब्राजिललाई पूरा दुई वर्ष लागेको थियो । जब टिटेले ब्राजिलको प्रशिक्षण सम्हाले, उनले ब्राजिललाई रसियाको यात्रा तय गराउने पहिलो टिम बनाए । टिटेको प्रशिक्षणमा ब्राजिलले राम्रो लय समायो । पाँच पटकको च्याम्पियन ब्राजिलमा युवा खेलाडीको बाहुल्यता रहेको छ । जसमा ६ खेलाडीमा मात्र विश्वकप खेलेको अनुभव छ ।

टिटेको प्रशिक्षणमा ब्राजिलले खेलेको २१ खेलमा एकमा मात्र पराजय भोगेको थियो । ब्राजिलमा नेयमार, फिलिपे काउटिन्हो, विलियन र गाब्रियल जेसस जस्ता विश्वका महंगा खेलाडी आक्रमण पंक्तिमा छन् ।

स्वीट्जरल्याण्ड पछिल्लो दुई वर्षमा निकै राम्रो फर्ममा छ । सन् २०१६ को सुरुवातमा भएको युरोपियन च्याम्पियनसिपपछि खेलको १७ खेलमा स्वीट्जरल्याण्डले एक हार खेलेको थियो भने दुई बराबरी खेलेको छ । यस अर्थमा पनि स्वीट्जरल्याण्डको प्रदर्शन निकै राम्रो रहनेछ । यद्धपी उसले रसियामा छनोट हुनका लागि प्लेअफ खेल्नु परेको थियो । प्लेअफमा उत्तरी आयरल्याण्डलाई हराउँदै स्वीट्जरल्याण्ड विश्वकप खेल्नका लागि योग्य भएको थियो ।

ठूलो टिमलाई हराउनुको स्वाद स्वीट्जरल्याण्डलाई राम्रोसँग थाहा छ, जसले सन् २०१० को च्याम्पियन स्पेनलाई पहिलो खेलमा नै हराएको थियो ।

म्याच फ्याक्ट्स

–विश्वकपको २० संस्करणमा सहभागिता जनाएको ब्राजिलले तीनबाहेक सबै संस्करण जितका साथ सुरु गरेको छ । उसले दुईवटा संस्करणमा बराबरी र एक संस्करणमा हारबाट विश्वकप सुरु गरेको थियो ।

–युरोपेली छनोट प्रतियोगितामा स्वीट्जरल्याण्डले एउटा खेलमा मात्र पराजय भागेको थियो, जुन पराजय उसलाई पोर्चुगलले दिएको थियो ।

–अघिल्लो संस्करणमा ह्याट्रिक गरेका जेर्दन शाकिरीले स्वीट्जरल्याण्डको पछिल्लो ६ मा चार गोल र एक एसिस्ट गरेका छन् ।
–ब्राजिल र स्वीट्रल्याण्ड यसअघि आठ पटक आमने सामने भएका छन् । जसमा ब्राजिलले ३ खेल जितेको छ भने दुई खेलमा स्वीट्जरल्याण्ड विजयी भएको छ । बाँकी ३ खेल बराबरीमा सकिएको थियो ।

–सन् १९५० को विश्वकपमा ब्राजिल र स्वीट्जरल्याण्डले २–२ गोलको नतिजा निकालेका थिए ।

प्लेयर्स टु वाच

नेयमार–ब्राजिल

विश्वका सबैभन्दा महँगा खेलाडी नेयमार स्वीट्जरल्याण्डविरुद्धको खेलमा सबैको आकर्षणको पात्र हुनेछन् । पेरिस सेन्ट जर्मेइनबाट खेल्दा खुट्टा भाचिँएको कारण लामो समय आराम गरेको नेयमारको प्रदर्शन क्रोएसिया र अष्ट्रियाविरुद्धको मैत्रिपूर्णमा देखिएपनि उनको पूर्ण शक्ति स्वीट्जरल्याण्डसँगको खेलमा देख्न सकिनेछ ।

ब्राजिलका लागि ८५ खेलमा ५५ गोल गरिसकेका नेयरमाले पेलेको ७७ गोलको कीर्तिमान भंग गर्न सक्ने लक्षण देखाइसकेका छन् । उनले यही गतिमा गोलको संख्या बढाउँदै गएको खण्डमा दुई वर्षभित्रमा पेलेको रेकर्डसमेत तोड्नेछन् । ठूलो आशा गरिएका खेलाडी नेयमार टिमका मुख्य गोल मेसिन हुन् ।
 
जेर्दन शाकिरी–स्वीट्जरल्याण्ड

‘क्युब अफ पावर’, ‘अल्पाइन मेस्सी’ जस्ता उपनाम पाएका जेर्दन शाकिरी स्वीट्जरल्याण्डका मुख्य हतियार हुन् । सन् २००९ को फिफा युथ कपको फाइनलमा बेन्चबाट आएर गोल गर्दै स्वीट्जरल्याण्डलाई उपाधि जिताएपछि शाकिरी चर्चा चुलिन थालेको थियो । २६ वर्षे शाकिरीले स्वीट्जरल्याण्डका लागि ७० खेलमा २० गोल गरिसकेका छन् ।
 
ब्राजिल टिम
प्रशिक्षकः टिटे
गोलकिपरः एलिसन, कासियो, एडरसन
डिफेन्डरः थियागो सिल्भा, मिरान्डा, पद्रो गेरोमेल, फिलिपे लुइस, मार्सेलो, माक्र्युन्होस, डानिलो, फाग्नर
मिडफिल्डरः कासिमिरो, रेनाडो अगस्टो, फिलिपे काउटिन्हो, पाउलिन्हो, फर्नान्डिन्हो, फ्रेड
फरवार्डः डग्लस कोस्टा, गाब्रियल जेसस, नेयमार, विलियन, रोबर्टो फिरमिनो, टाइसन
 
स्वीट्जरल्याण्ड टिम
प्रशिक्षकः भ्लादिमिर पेट्कोभिक
गोलकिपरः यान सोम्मर, योभन भोगो, रोमन बुर्की
डिफेन्डरः स्टेफान लिच्टेनर, फ्रांकियोस मोबान्जे, निको एल्भिदी, मानुयल अकान्जी, मिचेल लाङ, रिकार्डो रोद्रिगेज, जोहान जोरु, फवियान स्कार
मिडफिल्डरः रेमो फ्रेउलर, ग्रानिट जाखा, भालोन बेहरामी, ब्लेरिम जेमाइली, गेल्सन फर्नान्डेज, डेनिस जाकारिया
फरवार्डः ब्रिल इम्बोलो, हरिस सेफेरोभिक, स्टेफेन जुबेर, मारियो गाभ्रानोभिक, जोसिप ड्रमिक, जेर्दन शाकिरी

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया