उत्तरगया धाम बचाउनका लागि हस्ताक्षर संकलन

 पुस २१, २०७५ शनिबार १३:५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगयाधाम बचाउनका लागि उत्तरगया बचाउ संघर्ष समितिले हस्ताक्षर संकलन गरेको छ । 

रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको उत्तरगया धाममा शनिबार श्राद्ध गर्न आएका भक्तजनले हस्ताक्षर गरेका छन् । दुई जिल्ला भएर बग्ने बग्ने त्रिशूली गंगाको प्राकृतिक बहाव रोक्ने गरी मध्य त्रिशूली गंगा जलविद्युत आयोजना निर्माण गर्न लागेकाले बिरोध स्वरूप हस्ताक्षर सङ्कलन गरिएको स्थानीय मुक्तिनाथ भट्टराईले बताउनुभयो । 

२०१८ सालमा पनि उत्तरगया धामको विनास गर्न खोजेको उहाँले बताउनुभयो । यसअघि बनेका त्रिशूली जलविद्युत आयोजना मुहान हालको बेत्रावती भन्दा माथिबाट तुप्चे हँदै त्रिशूली कोलनी पानी लैजाने योजना बनेको थियो । 

त्यसबेला धार्मिक महत्वको धरोहरको अस्तित्व सङ्कटमा पर्ने भन्दै यसअघि पनि स्थानीय बासिन्दाको विरोधका कारण आयोजनाको मुहान डेड किलोमिटर पर सारिएको थियो । ऐतिहासिक तथा धार्मिक महत्वको क्षेत्र उत्तरगया धामभन्दा दुई सय मिटर माथि आयोजना निर्माण गर्न सकिने स्थानीय गणेश श्रेष्ठले बताउनुभयो । 

उत्तरगया धामको विनास हुने गरी कुनै पनि आयोजना निर्माण गर्न नदिने उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताउनुभयो । ‘हामीले धार्मिकस्थल विनास हुने गरी कुनै पनि योजना निर्माण गर्न नदिने विषय गाउँसभाबाटै पारित गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यसका लागि जनताले साथ दिएका छन् ।’ 

ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको क्षति गर्ने तथा वातावरणीय असर गर्ने गरी काम गर्न दिन नहुने संविधानसभाका पूर्व सदस्य जनार्दन ढकालले बताउनुभयो ।

हस्ताक्षर सङ्कलन अभियानमा प्रतिनिधि सभाका सदस्य मोहन आचार्य, संविधान सभाका पूर्व सदस्य जनार्दन ढकाल, नेता तथा कार्यकर्ता, विभिन्न जिल्लाका भक्तजन तथा स्थानीयले हस्ताक्षर सङ्कलनमा सहभागी भएका छन् । 

जिल्लाको विकास निर्माणले विनास हुने अवस्था आएमा यस्तो कार्यलाई अगाडि बढाउन नदिने प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले बताउनुभयो । स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार उत्तर गया क्षेत्रमा त्रिशूली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । नदीमा श्राद्ध गरेमा पितृहरु उद्धार भई स्वर्ग जाने विश्वासले धेरै भक्तजनहरु यस स्थानमा श्राद्ध गर्न आएका हुन् । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया