जोरायल गाउँपालिका : एम्बुलेन्स वितरण विवादमा

 पुस २१, २०७५ शनिबार १९:४३:३० | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको पुस १३ गते डोटीको जोरायल गाउँपालिकालाई हस्तान्तरण गरिएको एम्बुलेन्सबारे विवाद भएको छ ।

विवादका कारण अहिले त्यो एम्बुलेन्स थन्किएको छ । जोरायल गाउँपालिका ५ गड्सेरा घर भई हाल अमेरीका बस्दै आएका नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले जोरायलको प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको एम्बुलेन्समा राजनीतिकरण भएको भन्दै विवादमा परेको हो ।

एम्बुलेन्स गाउँपालिकालाई नै हस्तान्तरण गर्ने कार्यक्रममा स्थानीय सरकार प्रमुख गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरुको अपमान हुने गरी कार्यक्रम आयोजना गरिएको र एम्बुलेन्समा पार्टीको नाम लेखिएकाले विवाद शुरु भएको हो ।

कांग्रेस नेता बिष्टको प्रमुख आतिथ्यतामा एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा आफूहरुलाई अपमान हुने गरी आमन्त्रण गरिएको र एम्बुलेन्समा पार्टीको नाम उल्लेख गरिएकोमा अब गाउँपालिकाले आफ्नै लगानीमा एम्बुलेन्स खरिद गर्ने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

एम्बुलेन्समा ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्री आनन्द बिष्टज्यूको पहलमा आमा फाउण्डेशन नेपालमार्फत (गौरीराज जोशी) द्वारा जोरायल गाउँपालिकालाई प्रदान गरिएको’ लेखिएको छ । आमा फाउण्डेशन नेपालमार्फत खरिद गरिएको त्यो एम्बुलेन्स खरिद प्रक्रियामा जाँदा भन्सार छुटका लागि स्वयंम जोरायल गाउँपालिकाले पत्राचार गरी जम्मा ११ लाखमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।

भन्सारसहित खरिद गर्दा एम्बुलेन्सको मूल्य झण्डै २७÷२८ लाख पर्दछ । दूरदराजमा सेवा दिने उदेश्यले स्वयंम गाउँपालिकाले पनि पहल गरेको एम्बुन्लेन्समा पूर्ण रुपले राजनीतिकरण भएपछि समस्या आएको अध्यक्ष ओझाको दाबी छ ।

एम्बुलेन्स हस्तान्तरण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका जोरायल गाउँपालिका वडा नम्बर ३ सरस्वतीनगरका नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा प्रमुख अतिथि आनन्द बिष्टले जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समिर भण्डारीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्षहरु सहभागी थिएनन् । नेपाली कांग्रेसले आन्तरिक छलफल अनुसार एम्बुलेन्स भित्र्याएको र कार्यक्रम आयोजना गरिएको गाउँपालिका वडा नं. ३ का अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया