थलाडाँडाको भ्यू–टावर निर्माण योजना अलपत्र

 पुस २२, २०७५ आइतबार १३:३४:५ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमको म्याङलुङ नगरपालिका–१, स्थित थलाडाँडामा भ्यू–टावर निर्माणको काम अलपत्र रहेको छ ।

थलाडाँडामा भ्यू–टावर निर्माणसँगै पर्याप्त पर्यटकीय सम्भावना भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा पर्यटकीय पूर्वाधार निर्माणमा ढिलाई भइरहेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

डाँडामा सामान्य पूर्वाधार व्यवस्थापन नहुँदै आन्तरिक पर्यटकहरुको भीड लाग्न थालेको छ । भ्यू–टावर निर्माणका लागि तयार गरिएको स्थानसँगै निर्माण भएको पार्कमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा आगन्तुक पर्यटकहरु पुग्ने गर्छन् । बिदाको दिन शनिबार त्यस क्षेत्रमा विशेष चहल पहल हुने गर्छ ।

थलाडाँडा म्याङलुङकै आकर्षक र पर्याप्त सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण आवश्यक देखिएको शनिबार घुमफिरका लागि पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी प्रभात घिमिरेले बताउनुभयो ।

भ्यू–टावर तथा पार्क निर्माणको काम तीन वर्षअघि तत्कालीन जिल्ला वन कार्यालयको ८ लाख रुपैयाँ, नगरपालिकाको १ लाख रुपैयाँ र ९० हजार रुपैयाँ स्थानीयको गरी कुल ९ लाख ९० हजार रुपैयाँमा सुरु भएको थियो ।

भ्यू–टावर निर्माणका लागि नगरपालिकाले निरन्तर बजेट विनियोजन नगर्दा योजना अलपत्र बनेको थियो । चालु आर्थिक वर्षमा पुनः म्याङलुङ नगरपालिकाले १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

एक नम्बर वडा कार्यालयले पार्कको संरक्षण र व्यवस्थापनमा खर्च गर्दै आएको तर पर्याप्त बजेट नहुँदा समस्या रहेको वडाध्यक्ष इन्द्रराज लिम्बूले बताउनुभयो । 
पार्कमा बनभोज खाने र घुमफिर गर्नेहरुको संख्या बढ्न थालेपछि वरिपरी फोहोरमैला समेत बढेको छ । पार्कमा खानेपानीको समेत सुविधा पुर्‍याउन आवश्यक देखिएको म्याङलुङबजारका व्यवसायी शंकर जोशीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया