स्थानीय जातको बीउ संरक्षण अभियानमा डोटीका किसान

 पुस २२, २०७५ आइतबार १३:३४:१५ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीका किसानहरुले स्थानीय लोकल जातको आलुलगायत अन्य विभिन्न बीउको संरक्षण गर्ने अभियनको थालनी गरेका छन् ।

जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाको सहयोगमा जोरायल गाउँपालिका २ स्थित गैराका किसानले त्यो अभियनको सुरुवात गरेका हुन् । लोकल तथा उन्नत जातका आलुलगायत अन्य बीउ संरक्षणका लागि किसानहरुले रस्टीक स्टोर  समेत स्थापना गरेका छन् ।

बीउ कुहिएर नोक्सान नहोस र आवश्यक परेको बेला बीउका लागि अनेत्र भौतारिन नपरोस भन्ने उद्देश्यका साथ बीउ संरक्षण अभियानको थालनी गरिएको जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्था घण्टेश्वर २ गैराका अध्यक्ष भोजबहादुर मल्ले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उन्नत तथा लोकल जातको आलु अन्य बीउ संरक्षणको सुरुवात गरेका छौं, बीउका लागि अब अन्यत्र धाउनु पर्ने अवस्थाको अन्त हुने छ ।’ कृषि समन्वय इकाई कार्यालय डोटी  र लीवर्ड संस्थाको आर्थिक सहयोगमा दश लाख ७५ हजार ३ सय ३७  रुपैयाँको लगानीमा बीउ संरक्षण गर्ने रस्टीक स्टोरको निर्माण गरिएको जैविक विविधता संरक्षण तथा कृषि सहकारी संस्थाका महिला सदस्य सन्जा बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले–पहिले आलुलगायत अन्य बीउका लागि गाउँघरमा कसैले बचाएर राखेको बीउ खोज्दै हिँड्नु पथ्र्यो, नपाइएमा  भारतबाट आएको गुणस्तरहीन बीउ प्रयोग गर्न बाध्य थियौं, आजभोलि रस्टीक स्टोरबाट आवश्यक बीउ प्रयोग गर्न पाएका छौं, यसैमा खुशी छौं ।’

बीउ संरक्षण गर्न थालेपछि बीउको अभाव अन्त भएको छ । किसानहरुले भनेकै समयमा घरैमा बीउ पाउन थालेपछि निकै खुशी भएको स्थानीय छपेश मल्लले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया