पाँचथरको सप्तमी बजारमा हावाबाट बिजुली निकालियो

 पुस २२, २०७५ आइतबार १४:२६:५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ स्थित सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन सुरु गरिएको छ ।

दुई वर्षअघि यस क्षेत्रमा परीक्षणका लागि राखिएको वायु ऊर्जाको टावरबाट बिजुली उत्पादन सुरु गरिएको हो । टावरमा जडान गरिएको दुईवटा विन्डर (पंखा) मार्फत अहिले २० किलोवाट बिजुली उत्पादन भइरहेको उपभोक्ता समितिका अध्यक्ष गंगा आङदेम्बेले बताउनुभयो ।

वायु ऊर्जाबाट २० र सौर्य ऊर्जाबाट ५० गरी ७० किलोवाट बिजुली उत्पादन भइरहेको अध्यक्ष आङदेम्बेको भनाई रहेको छ । सौर्य ऊर्जाका लागि १ सय ५२ वटा सोलार प्यानल राखिएको छ । सप्तमी बजारका १ सय १० घरधुरी लाभान्वित हुनेगरी वायु र सौर्य ऊर्जाको समन्वयबाट बिजली निकालिएको मिक्लाजुङ–२ का वडासदस्य सन्तकला मगरले बताउनुभयो ।

एसियाली विकास बैंकको ४ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा वायु–सौर्य ऊर्जाबाट बिजुली निकालिएको हो । कूल लागतको १० प्रतिशत भने स्थानीयको लगानी रहेकोे छ । योजनाको जिम्मा काठमाडौंको टपसन इनर्जी कम्पनी र मोरङको कृष्ण ग्रिल कम्पनी जेभि विराटनगरले पाएको थियो ।
    
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया