पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकियो, छिट्टै रेल पनि आउँछ, जहाज पनि चल्छ : प्रधानमन्त्री ओली

 पुस २२, २०७५ आइतबार १४:४३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको आफ्नै रेल चढ्ने सपना पूरा गर्न आफू केही वर्षदेखि आफू लागिपरेको बताउनुभयो ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘नेपालीको रेल सपनालाई पूरा गर्न बितेका केही वर्षदेखि मैले आफ्नाे पहल र प्रयत्नलाई शिथिल हुन दिएको छैन । हाम्रो मुलुकको विकासको लागि रेल–वे र वाटर–वे, गेम चेञ्जर हुने तथ्यलाई अफवाहको तुँवालोभित्र पुरिदिने प्रयासलाई मैले अभिरुचिका साथ नियाली रहेको छु ।’ 

आफूले पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकिएको र रेलको चर्चा गर्दा रित्ता बाल्टिन लाइनमा राखेर कुरा काटिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले स्मरण गरिरहेको छु, कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा प्mयाँकियो । रेलको चर्चा गर्दा रित्ता बाल्टिन् लाइनमा राखी कुरा काटियो । अहिले पनि सुनेको छु– जहाजको टिकट काटौँ भनेको, काउण्टर खै ? हिजो नपत्याउनेहरु समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेमा म खुशी व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले रेल पनि आउने पानीजहाज पनि आउने तर त्यसका लागि धैर्य गर्नुपर्ने भन्दै भन्नुभयो, ‘ धैर्य रहौँ– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ ।’ 

त्यस्तै प्रधानमन्त्री ओलीले केरुङ–काठमाडौं रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको र यसको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि सम्झौता चाँडै नै हुने पनि बताउनुभयो । काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग चिनियाँ सहयोगमा पूर्व सम्भाव्यता अध्ययन गर्न समझदारी पत्रमा हस्ताक्षर हुन लागेको कुरा पनि प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिनुभयो । 

त्यस्तै भारतीय सहयोगमा रक्सौल–काठमाडौं रेलमार्ग विस्तृत परियोजना तयार गर्न समझदारी पत्रमा हस्ताक्षर भइसकेको बताउँदै कुर्थादेखि जयनगरसम्म निर्माण गरिएको रेल–वे लाइनमा नेपालको आफ्नै रेल सञ्चालन गर्न २ वटा रेल खरिद कार्य अगाडि बढाइएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

नेपालमा पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्ट्रार नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया