हुलाक कार्यालयमा स्तनपान कक्ष !

 पुस २२, २०७५ आइतबार १६:१७:१० | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – हुलाक कार्यालयमा पहिलो पटक सुत्केरी महिलालाई लक्षित गरी स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानले सुत्केरी र शिशुको स्वास्थ्य प्रबर्द्धन गर्ने उद्देश्यले स्तनपान कक्षको स्थापना गरेको कार्यालय प्रमुख धिरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

शिशु जन्मेको ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध खुवाउनुपर्ने तथा कार्यालयमा सेवा लिन आउने महिलाहरुका लागि स्तनपान कक्ष निर्माण गरिएको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।

‘हुलाकमा आउने महिला सेवाग्राही शिशु बोकेर आउने भएकाले तिनलाई सहज होस् भनेर कक्ष स्थापना गरेका हौैं’, उहाँले भन्नुभयो । स्तनपान कक्ष निर्माण भएसँगै अब सानो दूधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुने भएको शारदा नगरपालिका–३ बयलडाँडा निवासी इन्द्रा भण्डारीले बताउनुभयो ।

‘कार्यालयले हामीजस्ता महिलालाई मध्यनजर गरेर स्तनपान कक्ष स्थापना गरेकोमा हामी धेरै धन्यवाद दिन चाहन्छौं’, उद्घाटन कार्यक्रममा सहभागी भएकी उहाँले भन्नुभयो, ‘यस्तो सराहनिय र महिला मैत्री काम सबै सरकारी कार्यालय र स्थानीय तहले पनि गर्नु जरुरी छ ।’

स्तनपान कक्ष उद्घाटन कार्यक्रममा सहभागी भएका स्तनपान गराइरहेका आमाहरुलाई न्यानो टोपी र मोजा उपहार स्वरुप प्रदान गरिएको कार्यालयले जनाएको छ । उपहार किन्न कुमारी बैंकले पनि आर्थिक रुपमा केही सहयोग गरेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया