वर्षदिनदेखि खोरभित्र थुनिए प्रवेश, खोरभित्रै खानपिन र शाैच

 असार ३, २०७५ आइतबार १४:३२:१० | समुद्र पौडेल
unn.prixa.net

प्रवेशलार्इ राखिएकाे खाेर

तनहुँ – मानसिक सन्तुलनमा समस्या आएको भन्दै तनहुँका एक युवालाई परिवारले झण्डै एक वर्षदेखि खोरमा राख्दै आएका छन् ।

तनहुँको भिमाद–२, टेक्रेका २५ वर्षीय प्रवेश थापालाई परिवारले झण्डै एक वर्षदेखि घर आडैमा बाँसले बारेर बनाएको खोरमा थुनेर राखेका हुन् । गाउँमा नाङ्गै हिँड्ने र गाउँलेको खेतबारीमा लगाएको फलफूल तथा अन्नपात उखेलेर फाल्न थालेपछि गाउँलेकै दबाबमा परिवारले प्रवेशलाई खोरमा थुन्न थालेका हुन् । खोरभित्रै निवस्त्र भेटिएका प्रवेशले त्यही खाना खाने र त्यही शौच गर्ने स्थानीय कुमार थापाले बताउनुभयो ।

‘झण्डै एक वर्षदेखि उ खोरभित्रै बस्दै आएको छ’, उहाँले भन्नुभयो, ‘कपडा नलगाई हिँड्ने र गाउँको खेतीबालीमा नोक्सानी गरेपछि परिवारले खोरमा राख्न थालेको हो । ’खोरमा थुनिएका प्रवेशलाई हजुरआमाले खाना खुवाउने गर्दै आउनुभएको थियो । झण्डै तीन साता अघि हजुरआमाको समेत मृत्यु भएपछि अहिले गाउँले पर्वत थापाले प्रवेशलाई खाना खुवाउने गर्नुभएको छ ।

‘बिहान बेलुका खोरमा नै लगेर खाना र पानी दिने गरेको छु,’ पर्वतले भन्नुभयो, ‘त्यही खाना खान्छ अनि त्यही भित्रै दिशापिसाब गर्छ ।’ प्रवेशकी आमाले दोश्रो विवाह गरेर काठमाडौं बस्दै गरेको र परिवारका अन्य सदस्यहरु पोखरा रामबजारमा बस्ने गरेको गाउँलेले बताएका छन् ।

सामान्य रुपका प्रवेशलाई आमाले काठमाडौं लगेर करेन्ट लगाइदिएपछि प्रवेशलाई मानसिक समस्या देखिएको उहाँका बाबु बिष्णु थापाले बताउनुभयो । परिवारले उपचारका लागि पोखरा, काठमाडौंलगायतका स्थानका अस्पतालमा लगे पनि प्रवेशको मानसिक अवस्थामा सुधार नआएको उहाँले बताउनुभयो ।

‘उपचारका लागि धामीझाक्री गर्नेदेखि अस्पतालसम्म पनि पुर्‍यायौ,’ उहाँले भन्नुभयो, ‘छोरा हो, माया लाग्छ तर उपचार नभएपछि बाध्य भएर खोरमा थुनेर राख्नुपरेको छ ।’

अन्तिम अपडेट: फागुन २९, २०८०

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया