ए डिभिजन लिग: शेर्पालाई दुई-शून्यले हराउँदै थ्रीस्टार क्लब लिगकाे तेस्राे स्थानमा

 पुस २२, २०७५ आइतबार १७:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले तेस्रो स्थानमा रहेर लिग टुंग्याएको छ ।

आइतबार भएको आफ्नो अन्तिम खेलमा थ्रीस्टारले  हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै २६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहन सफल भएकाे हो । शेर्पामाथि सुरुदेखि नै दबाब कायम गरेको थ्रीस्टारले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।

थ्रीस्टारका लागि २८औं मिनेटमा बुद्धराज लिम्बुले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा १ गोल गरेको थियो ।

८९औं मिनेटमा रन्जन विष्टले गोल गर्दै थ्रीस्टारलाई २–०को जित दिलाउन सफल भए । यस्तै एपीएफ मैदानमा आइतबारै भएको अर्को खेलमा त्रिभुवन आर्मीले मछिन्द्र क्लबविरुद्ध ३–०को जित निकाल्दै तालिकाको चौथो स्थानमा रहन सफल भयो । 

आर्मीको जितमा भरत खवासले २ गोल गर्दा टंकबहादुर बस्नेतले १ गोल गरेका थिए । आर्मीले पहिलो हाफमा १ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । 

आर्मीका लागि २८औं मिनेटमा टंकबहादुर बस्नेत गोल गर्दै अग्रता दिलाएका थिए । ६२औं मिनेटमा आर्मीका कप्तान भरत खवासले टिमका लागि दोस्रो गोल गरे । २–०ले अगाडि रहेको आर्मीले तेस्रो गोल ७४औं मिनेटमा गरेको थियो । तेस्रो गोल कप्तान खवासकै नाममा रह्यो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया