मेस्सी भन्छन्, यो दुखबाट छिट्टै राहत मिल्नेछ

 असार ३, २०७५ आइतबार १५:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टीनाका फुटबल कप्तान नियोनल मेसीले विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा  टिम र आफ्नो व्यक्तिगत प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार आइसल्याण्डसँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँड्नुपरेको तथा आफूले पेनाल्टीमा पनि गोल गर्न नसक्दा दुख लागेको मेस्सीले बताएका हुन् । जितबाट प्रतियोगिता शुरु गर्नु सधैँ महत्वपूर्ण हुने उल्लेख गर्दै मेस्सीले ३ अंक जोड्नसक्ने राम्रो मौका गुमाएकोमा आफू र सिंगो टिम नै दुखि भएको स्वीकारेका हुन् ।

‘पक्कै पनि यसले (पेनाल्टीमा गोल गर्न नसकेकाले) मलाई दुखि बनाएको छ’, मेस्सीले भनेका छन्, ‘गोल भएको भए त्यसले टिमलाई ठूलो अवसर प्रदान गर्ने थियो ।’ त्यसले अवस्था नै फरक पार्ने र टिमलाई धेरै फाइदा पुर्याउने भए पनि त्यो अवसरको उपयोग गर्न नपाएको मेस्सीको भनाई छ । 

उनले यो पीडाबाट छिट्टै राहत पाउने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘हामी छिट्टै यो अवस्थाबाट मुक्त हुनेछौं ।’ मेस्सीले अब क्रोएशियासँगको खेलमा ध्यान दिनुपर्ने बताएका छन् । अर्जेन्टीनाले असार ७ गते क्रोएसियासँग खेल्दैछ । 

अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले पनि आइसल्याण्डसँगको खेलपछि मेस्सीले असहज महसुस गरेको बताएका छन् । पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा उनलाई आफ्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाई छ ।

मेस्सीले क्लब र देशका लागि पाएका ७ मध्ये ४ पेनाल्टीमा गोल गर्न सकेका छैनन् । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया