फाल्गुनन्द गोल्डकप : मोरङ–११ विरुद्ध फिदिम स्पोर्टिङ क्लबको सङ्घर्षपूर्ण जित

 पुस २२, २०७५ आइतबार १८:१२:१८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिममा जारी १० औँ संस्करणको रुष्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा मोरङ –११ विरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै आयोजक फिदिम स्पोर्टिङ पाँचथर क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय फिदिम माविको खेल मैदानमा आइतबार सम्पन्न खेलमा खेलको ७ औँ विदेशी खेलाडी काचिले गरेको गोल नै निर्णायक बन्दा फिदिम स्पोर्टिङ क्लबले क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो ।

गोल गर्न पाएका थुपै्र अवसरहरु सदुपयोग गर्न नसक्दा मोरङ प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको हो । दोस्रो हाफ सुरुवातमै मोरङका साइमन लिम्बूको फ्रि–किक प्रहार पोलमा ठोक्किएको थियो भने ६३ औँ मिनेटमा वीरेन्द्र लिम्बूको फितलो प्रहार फिदिमका गोलकीपर एलिस कार्कीले सजिलै नियन्त्रणमा लिए ।

यस्तै फिदिमले पनि पाएका सुन्दर अवसरहरु सदुपयोग गर्न नसक्दा साँघुरो जित निकालेको हो । खेलको २९ औँ मिनेटमा विदशी खेलाडी स्टेफानको सशक्त प्रहार पोल माथिबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्यान फिदिमका प्रबिन जवेगु बने । उनले नगद १० हजार पाए । प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौँ र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।

पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया