एकै फर्मका ६ सय कुखुरा मर्दा सात लाख बराबरको क्षति

 असार ३, २०७५ आइतबार १५:८:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – पश्चिम रुकुमको एक कुखुरा फर्ममा एकै दिनमा ६ सय कुखुरा मरेका छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँखमा रहेको पाण्डे कुखुरा फर्ममा २४ घण्टामै ६ सय कुखुरा मरेका हुन् । शनिबार माफर्ममा रहेका सबै कुखुरा मरेको फर्म संचालक शोभाकर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार हरियो दिसा गर्ने, झोक्राउने, काम्ने, छट्पटाउने र त्यसपछि कुखुरा मर्ने गरेका हुन् ।

त्यस्तै मरेपछि कुखुराको रंग निलो हुने भएको संचालक पाण्डेले जनाउनुभयो । फर्ममा रहेका सबै कुखुरा मर्दा करिब सातलाख बराबरको नोक्सान भएको सञ्चालक पाण्डेले बताउनुभयो ।

कुखुरामा बर्ड फ्लू भएको हुन सक्ने आशंका गरिएको छ । एकाएक सबै कुखरा मरेपछि बर्ड फ्लुको आशंका गरिएको हो । घटनाकाबारेमा बुझ्न पुगेको जिल्ला पशु सेवा कार्यालयको टोलीले कुखुरामा रानिखेत रोग लागेको हुनसक्ने बताए पनि रानिखेतबाट यति छिट्टै सबै कुखुरा सखाप नहुने संचालक पाण्डेको दाबी छ । 

केही दिनअघि कुखुरा लिन भन्दै कैलालीबाट व्यापारीहरु आएका थिए । तीनै व्यापारीहरुले आफैले ल्याएको तराजु प्रयोग गरेर कुखुराको तौल नापेको र त्यसैबाट रोग भित्रिएको हुन सक्ने पाण्डेको आशंका छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया