बुवाको किरिया बसेका श्रद्धा र श्रेया भन्छन्, ‘छोरा भएन भनेर कुनै बा–आमाले मन दुखाउनु पर्दैन’

 पुस २२, २०७५ आइतबार १८:४१:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – ‘छोरा नभए स्वर्ग तरिदैँन । जिउँदो छँदा पाल्ने, मर्दा घाटसम्म पुर्याउने र दागबत्ती दिने कोही हुँदैनन् । त्यसैले पनि छोरा त चाहिन्छ, चाहिन्छ’ भन्ने मानसिकता हाम्रो समाजमा अझै यदाकदा जीवितै छ ।

छोरीले आफ्ना बुवा–आमाको दुःखद निधन हुँदा दागबत्ती दिन नहुने, काजकिरिया गर्न नहुने मान्यता पनि समाजमा छ । तर त्यही मान्यतालाई चिर्दै समाजमा एउटा उदाहरणीय कार्य गरेका छन्, सुन्दरबजार नगरपालिका–६, अन्नपूर्ण टोलका स्वर्गीय कमल रेग्मीका दुई छोरी श्रद्धा र श्रेया रेग्मीले ।

भारतको नयाँदिल्लीस्थित गंगाराम हस्पिटलमा उपचारका क्रममा गएको पुस १० गते बिहान ४ बजे ४८ वर्षको उमेरमा कमल रेग्मीको दुःखद निधन भएको हो ।   रेग्मी नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका सचिव हुनुहुन्थ्यो । उहाँ नेपाल तरुण दल जिल्ला कार्य समितिका पूर्व उपाध्यक्ष, पूर्व सचिव समेत हुनुहुन्थ्यो । उहाँ आदर्श बाल मावि बरेटारका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । यसका साथै उहाँ विभिन्न संघसंस्थामा पनि आवद्ध हुनुहुन्थ्यो ।    

रेग्मीको पार्थिव शरीरलाई उहाँका दुई छोरी श्रद्धा र श्रेयाले नै दागबत्ती दिएका थिए । दुवै छोरी १३ दिनसम्मै दिवंगत बुवाको किरिया बसेका थिए । स्वर्गीय कमलका जेठी छोरी श्रद्धा १९ वर्षको हुनुभयो । कान्छी छोरी श्रेया १७ वर्षको हुनुभयो । उनीहरु दुवैजना स्नातक तहमा पढ्दै छन् । 

कर्तव्य पूरा गर्न सके छोराछोरी दुवै समान हुने श्रद्धा रेग्मी बताउनुहुन्छ । ‘छोरी मात्रै भए, छोरा भएनन् भनेर कुनै बुवा–आमाले मन दुखाउनु पर्दैन । कर्तव्य पूरा गर्न सके छोराछोरी दुवै बराबर,’ श्रद्धाले भन्नुभयो ।

‘बुवाको पार्थिव शरीरमा दागबत्ती दिई १३ दिनसम्मै किरिया बसी छोराले गर्ने कर्तव्य छोरीले पनि गर्न सक्छन् भन्ने सन्देश समाजमा छरेका छौँ,’ श्रद्धाले भन्नुभयो, ‘समाज परिवर्तनको सुरुवात गर्न पाउँदा हामी दिदीबहिनी खुशी छौँ ।’

बुवाको सपना पूरा गर्छौँ

बुवाको सपना पूरा गर्न हरदम लागि रहने पनि उनीहरुले बताएका छन् । ‘बुवा सामाजिक मान्छे हुनुहुन्थ्यो । समाज सेवामा लागिरहनुहुन्थ्यो । ममी श्यामका रेग्मी लामो समयदेखी महिला विकासको क्षेत्रमा काम गर्दै आउनुभएको छ । समाज परिवर्तनको काम आफ्नै घरबाट हुँदा निकै गर्वको महुसस भएको छ,’ श्रद्धाले भन्नुभयो ।

बुवाकाे निधनमा भावुक भएका श्रद्धा र श्रेया

छोरीहरुले थालनी गरेको यो समाज परिवर्तनको काम उदाहरणीय, अनुकरणीय रहेको स्वर्गीय कमलका साथी स्थानीय सुरेन्द्र पौडेलले बताउनुभयो ।  आइतबार स्वर्गीय कमल रेग्मीको १३ औँ दिनको पूण्यतिथिमा गहुँत ग्रहणका लागि कांग्रेस निकट नेता तथा कार्यकर्ता, आफन्त, ईष्टमित्र शुभेच्छुकहरु रेग्मीको घरमै पुगेका थिए । सुन्दरबजार नगरपालिका–९, का वडासदस्य अमोल खनालका अनुसार नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिले श्रद्धाञ्जलीसभाको समेत आयोजना गरेको छ । 

सभामा नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सांसद चन्द्रबहादुर कुवँर, पूर्व जिल्ला सभापति तुल्सीनारायण श्रेष्ठ, कृष्ण कोइराला, नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिका कार्यवहाक सभापति ठाकुरप्रसाद तिवारी लगायतका नेताले बोल्दै कमल रेग्मीको निधनले पार्टीलाई अपुरणीय क्षति पुर्याएको बताएका थिए ।

पार्टी र समाज सेवामा स्वर्गीय रेग्मीले पुर्याएको योगदान अतुलनीय रहेको उनीहरुले बताएका थिए । स्वर्गीय रेग्मीका दुई छोरी, श्रीमती र बुवाआमा हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया