प्रधानमन्त्री ओलीले भने : ‘योर च्वाइस इज फर्स्ट !’

 पुस २२, २०७५ आइतबार १८:५१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु समृद्धिको अभियानमा रहेकाले समृद्धिका लागि अघि सारिएको राष्ट्रिय यात्रामा सबैलाई सक्रिय सहभागी हुन आश्वान गर्नुभएको छ ।

प्रतिनिधिसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको सन्दर्भमा सत्तापक्ष र प्रतिपक्ष नभनि एक भएर अगाडि बढ्न आश्वान गर्नुभएको हो । उहाँले राष्ट्र निर्माणको प्रश्नमा कोही पनि सत्ता पक्ष र प्रतिपक्षमा विभाजित हुन नहुने भन्दै देशको विकासमा सबै मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

‘निःसन्देह हामी समृद्धिको अभियानमा छौं । समृद्धिको लागि अघि सारिएको यो राष्ट्रिय यात्रामा, सबैलाई सक्रिय सहभागी हुन म आश्वान गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो प्रतिपक्ष कसरी सहभागी हुन चाहन्छ, सरकार सोही अनुरुपको सहकार्य गर्न तयार छ ।’

प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसतर्फ इंगित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘योर च्वाइस इज फस्र्ट !’ सुशासन बहाली गर्न र भ्रष्टाचार अन्त्यका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत प्रधानमन्त्री ओलीले जनाउनुभयो ।

एक घण्टा लामो सम्बोधन गर्नु भएका ओलीले पछिल्लो समय उठेको वाइडबडी भ्रष्टाचार काण्डका बारेमा कुनै प्रतिकृया नदिए पनि भ्रष्टाचार गर्न भने कसैलाई पनि छुट नदिने दोहोर्याउनुभयो ।

‘सुशासन र शान्ति सुरक्षाको सन्दर्भमा अनेक टिप्पणी सुनेको छु । यो सरकार संसदले बनाएको हो र यसैको मातहत छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सुशासन बहाली गर्न र भ्रष्टाचार अन्त्यको लागि कुनै कसर बाँकी राखिने छैन । म भ्रष्टाचार गर्दिन र अरु कसैलाई पनि त्यो छुट दिन्न । कुन कुन विषयमा कस्ता कस्ता न्यायिक आयोग बनाउनु पर्ने हो, ती सबै गर्न सरकार तयार छ ।’

वाइडबडी भ्रष्टाचार काण्डमा संसदको लेखा समितिले छानबिन गरिरहेको छ । तर सरकारले पनि यो घटनाको छानबिनका लागि भन्दै आफ्नै छानबिन टोली बनाएपछि लेखा समितिको छानबिनलाई प्रभावित पार्न खोजेको भनेर आलोचना भइरहेको छ ।

तर प्रधानमन्त्री ओलीले भने छानबिनका लागि जति वटा पनि आयोग बनाउन सरकार तयार छ भन्दै अभिव्यक्ति दिनुभयो ।  यस्तै चिकित्सा शिक्षामा निजी क्षेत्रको सहभागिता हुनै नुहने भन्ने विरोधाभाष कुराहरु आइरहेको भन्दै ओलीले चिकित्सा शिक्षामा निजी क्षेत्रको आवश्यकता रहने बताउनुभयो ।

एक घण्टासम्म बोल्नु भएका प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले १० महिने अवधिमा गरेका कामको बेलिविस्तार लगाउन खर्च गर्नुभयो । यसअघिको बैठकमा सांसदहरुले उठाएको जवाफ दिने भनिएको भए पनि ओलीले आफू कुनै तर्कहरु र रंगीविरंगी प्रश्नमा नअल्झिने भन्दै सरकारले गरेका कामको सविस्तार बताउनै एक घण्टा खर्चिनुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘म कुनै तर्कहरुमा अल्झिरहन चाहन, त्यसैले आज यस सम्मानित सदनमा उठेका वा उठाइएका रंगीविरंगी प्रश्नलाई संबोधन गर्न भन्दा पनि यस र्आिथक वर्षका नीति कार्यक्रम र बजेट कार्यान्वयनको स्थिति बारेमा संक्षिप्तमा चर्चा गर्न चाहन्छु ।’

उहाँले भूकम्पपछिको पुननिर्माणले तीव्रता पाएको, राजश्व संकलनमा बृद्धि गरेको, विभिन्न राष्ट्रिय परियोजनाको काम सकिएको, केहीको काम द्रुत गतिमा भइरहेको, पूर्व–पश्चिम रेलमार्गको काम अघि बढेको, काठमाडौ–तराई मधेस फास्ट ट्रयाकको काम तिब्र गतिमा भइरहेको भन्दै आफ्नो १० महिने कार्यकालको फेहरिस्ता सुनाउन भ्याउनुभयो ।

कर्मचारी समायोजन अध्यादेश ल्याउँदा समेत प्रतिपक्षीले विरोध गरेकोमा गुनासो गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दललाई धमिलो पानीमा माछा नमार्न सुझाव पनि दिनुभयो । अघिल्लो सरकारले ल्याएको ऐन कार्यान्वयन गरेको भए मुलुकले ठूलो आर्थिक भार बोक्नुपर्ने उहाँको तर्क थियो ।

रेल र पानी जाहज संचालनका विषयलाई लिएर आफूलाई धेरैले प्रश्न गरेको बताउँदै उहाँले रेल र पानी जाहज चढ्नका लागि केही समय धैर्य गर्न आग्रह गर्नुभयो । आफूले भनेको समयमा पानी जहाज किन आउन सकेन भनेर प्रष्टिकरण दिनुको सट्टा उहाँले भन्नुभयो, ‘धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ ।’

नेपाल पानीजहाज कार्यालय स्थापना र पानीजहाज रजिष्टार नियुक्त गर्ने प्रक्रिया शुरु गरिएको भन्दै उहाँले नेपालमा जलमार्ग संचालनको लागि सम्भाव्यता अध्ययन भइरहेको बताउनुभयो ।  

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफूले कार्यान्वयनमा ल्याएको बताउँदै उहाँले यसमा कसैले दन्ते बझान गर्न नपर्ने पनि बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया