प्राचीन बौद्धमूर्ति चोर्ने चारजना पक्राउ

 पुस २३, २०७५ सोमबार ७:१६:३० | रासस
unn.prixa.net

डोल्पा – उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट बहुमूल्य बौद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका चार जनालाई डोल्पा प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

सदरमुकाम दुनैदेखि उत्तरी सीमावर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाबाट बौद्धमूर्ति चोरीको आरोपमा सोही गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पो बुद्ध गाउँपालिका– १ बस्ने ४१ वर्षीय झ्याम्पा छुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र ४३ वर्षीया पासाङ लुण्डुप गुरुङलाई डोल्पा प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका मध्ये झ्याम्पा छुल्डिम लामाबाट रु एक लाख र बौद्ध भाषामा लेखिएको आठ हरफको एक बौद्धलिपिसमेत केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको जिप्रका डोल्पाले जनाएको छ । शे–फोक्सुण्डो गाउँपालिका वडा नं ४ मा रहेको राहापगुम्बाबाट यसै वर्षको गत असोज ३१ गते ४२ थान प्राचीन बौद्धमूर्ति चोरी भएका थिए । सार्वजनिक गरिएका चारै जना उपल्लो डोल्पाका भएको प्रहरीले जनाएको छ ।

स्थानीयले दिएको गोप्य सूचनाका आधारमा चोरीमा संलग्न उक्रेन पासाङ गुरुङलगायतका व्यक्ति काठमाडौँ भएको थाहा भएपछि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँको बौद्धबाट पक्राउ गरेर डोल्पा पु¥याइएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अबदेश विष्टले जानकारी दिनुभयो । चोरी भएका बौद्ध मूर्ति कहाँ कसरी बिक्री गरिएको छ भन्नेबारे अनुसन्धान भइरहेकाले अहिले नै भन्न नमिल्नेसमेत विष्टले जानकारी दिनुभयो ।

प्रहरीले चोरीमा संलग्न व्यक्ति पक्राउ गरे पनि हराएका मूर्ति भने फेला पार्न सकेको छैन । उपल्लो डोल्पाका शे–गुम्बा, रे–गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बालगायतका दर्जनौँ गुम्बाबाट प्रत्येक वर्ष मूर्ति चोरी हुँदै आएका छन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया