त्रिशुली जलविद्युत आयोजनामा किन भैरहन्छ आगलागी ? प्रमुख भन्छन् ‘आयोजना बुढो भैसक्यो’

 पुस २३, २०७५ सोमबार ८:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – २१ मेगावाट बिजुली उत्पादन गर्ने त्रिशुली जलविद्युत आयोजना नुवाकोटमा गएको असार २६ गते भीषण आगलागी भयो । मुसाले तार काटेका कारण विद्युत सर्ट भएर आगो लागेको आयोजनाले जनाएको थियो । त्यतिबेला आयोजनाका ४ वटा ब्रेकर जलेर नष्ट भएका थिए । 

असारमा लागेको आगोले पु¥याएको क्षति बाँकी नै रहँदा फेरि मंसिर ८ गते आगलागी भयो । दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भए । 

फेरि पुस १८ गते त्रिशुली जलविद्युत आयोजनामा आगलागी भयो  । ६ दशमलव ६ केभीको जेनेरेटर बक्समा आगलागी हुँदा तीन दिन त विद्युत उत्पादन ठप्प भयो । पटक–पटक आगलागी हुँदा आयोजनाले सामग्री किन्न लाखौं रकम खर्च गरिरहेको छ भने विद्युत उत्पादन बन्द हुँदा पनि लाखौं रुपैयाँ बराबरको घाटा भएको छ । 

पटक–पटक आगलागीको कारण के हो ?

त्रिशुली जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न थालेको  ५१ वर्ष पुगेको छ । यो आयोजनाका सबैजसो सामग्री फेर्ने बेला भैसकेको छ । तर सामग्री फेरबदल गर्न नसक्दा पटक पटक आगलागीको समस्या भोग्नुपरेको आयोजना प्रमुख तारा भट्टले जानकारी दिनुभयो ।

‘आयोजना सञ्चालन भएको ५१ वर्ष भैसक्यो, हामीले यसका धेरै पाटपुर्जा फेर्नुपर्ने हो, तर त्यो भएको छैन, आयोजनाका प्रमुख तारा भट्टले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘आयोजना नै बन्द गरेर फेर्नलाई समस्या छ्, पाटपुर्जा नफेर्दा पटक पटक आगलागीको समस्या भोग्नुपरेको छ ।’

‘आयोजना बुढो भयो, पुराना पाटपुर्जा पाइन्नन, पुरै रिप्लेस गर्नुपर्छ’

त्रिशुली आयोजना धेरै पुरानो भैसकेको र यसका धेरैजसो पाटपुर्जा किन्न पनि नपाइने आयोजनाले जनाएको छ ।

‘धेरैजसो पाटपुर्जा पुरै रिप्लेस गर्नुपर्ने देखिएको छ, त्यसको लागि खर्च पनि धेरै लाग्छ, र लामो समय आयोजना बन्द पनि गर्नुपर्ने देखिन्छ’ आयोजना प्रमुख भट्टले भन्नुभयो, ‘पुराना पाटपुर्जा पाउनै मुश्किल छ, त्यसैले नयाँ पाटपुर्जा हाल्नुपर्ने पनि हुन सक्छ ।’

त्रिशुली जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ  । त्रिशुली आयोजनाबाट विद्युत बन्द हुँदा नुवाकोटसँगै रसुवा र धादिङका बासिन्द समेत मारमा पर्ने गरेका छन् । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया