संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको प्रतिवेदन तत्काल सच्याउन डा. केसीको माग

 पुस २३, २०७५ सोमबार १२:४५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वरिष्ठ चिकित्सक गोविन्द केसीले संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको प्रतिवेदन तत्काल सच्याउन माग गर्नु भएको छ ।

वरिष्ठ चिकित्सक केसीले आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक माफियाको पक्षपोषण हुने गरी शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको उल्लेख गर्दै त्यसलाई तत्काल सच्याउन शिक्षा तथा स्वास्थ्य समितिसँग माग गर्नु भएको हो । 

उहाँले सोमबार बिहान काठमाडौंको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफूसँग भएको सहमति अनुसार यो विधेयक समितिले पुस २५ गते बुधबारभित्र पारित नगरे आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिनुभयो । 

उपसमितिको आइतबार बसेको बैठकले वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विपरित यो विधेयक पारित गरेको थियो । वरिष्ठ चिकित्सक केसीले यो विधेयकमा आफूसँग भएको सहमतिमा एउटा शब्द पनि तलमाथि परे त्यसको विरोधमा आम जनतालाई साथमा लिएर आन्दोलनमा जान बाध्य हुने पनि बताउनु भयो ।

वरिष्ठ चिकित्सक केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित गर्ने शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीमगरले प्रतिबद्धता जनाएपछि आफूले पुस २५ गतेसम्मको समय दिएको पनि स्मरण गराउनु भयो । 

उहाँले सबै प्रदेशमा १÷१ वटा मेडिकल कलेज खोल्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । वरिष्ठ चिकित्सक केसीले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि तत्काल कार्वाही गर्न पनि सरकारलाई पुनः दवाब दिनु भएको छ ।

वरिष्ठ चिकित्सक केसीले निर्मला पन्तको हत्यारा पक्राउ गरी कार्वाही गर्नेलगायतका आफ्ना मागहरु पूरा गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया