‘जीवन काँडा कि फूल’ चैत २२ गतेदेखि प्रदर्शन हुने, झमक आफैलाई थोरै चित्त बुझेन

 पुस २३, २०७५ सोमबार १३:१९:५१ | सन्ताेष रुचाल
unn.prixa.net


धनकुटा – चलचित्र ‘जीवन काँडा कि फूल’ आउँदो चैत २२ गतेदेखि देशभर प्रर्दशनी हुने भएको छ । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको बहुचर्चित आत्मकथामा आधारित ‘जीवन काँडा कि फूल’ फिल्म २०७५ चैत्र २२ गतेदेखि देशभर प्रर्दशनी हुने भएको हो ।

बिष्ट ब्रदर्श फिल्म प्रालिले बायोपिकमा आधारित चलचित्र चैत २२ गतेदेखि देशभर रिलिज हुन लागेको जानकारी दिएको छ । निर्माण भएको झण्डै एक वर्षपछि फिल्म रिलिजको संघारमा रहेको फिल्मका निर्माता तथा निर्देशन बिनोद बिष्टले बताए ।

फिल्ममा झमक जन्मिएदेखि मदन पुरस्कार पाएसम्मको दृश्य समावेश गरिएको छ । झमकको जीवन भोगाइ संर्घषको चित्रण रहेको फिल्ममा काल्पनिकभन्दा पनि यर्थाथता झल्काउन निकै मेहनत गरेको निर्माता निर्देशक बिष्टले बताए । उनले भने, ‘झमकको जीवन भोगाइको संघर्षलाई दुरुस्त पर्दामा उर्तान कलाकार छनौटदेखि लिएर लोकेसन र निर्माण गर्न कठिन भएको थियो ।’ 

फिल्म रिलिजबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मदन पुरस्कार विजेता साहित्यकार घिमिरेले फिल्मको पर्दामा देखाइएको आमाको भूमिकामा थोरै चित्त नबुझेको बताइन्, ‘जति रियल लाइफमा बनेको भने पनि फिल्म फिल्म नै हो । कतिपय दर्शकहरुलाई किताबको जस्तो सरर बनेको सोच्लान् । तर त्यो फिल्ममा कतिपय कुरा देखाउन सकेको छैन । आमाको रोल अति छुच्चो छ ।’ त्यसैले दर्शकहरुले फिल्मलाई फिल्मकै रुपमा लिएर बुझिदिन र हेर्न उनले आग्रह गरेकी छिन् । साहित्यकार घिमिरेले लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ कृतिले २०६७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । त्यही कृतिमा आधारित रहेर फिल्म निर्माण भएको हो । 

फिल्मका वितरक सुनिल मानन्धर छन् । फिल्ममा झमक सानो छँदाको रोल सिलिगुडीकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता वुद्धाचार्यले गरेकी छिन् । त्यस्तै झमकको बुबाको भूमिका किसन सुनार, आमाको भूमिकामा उमा गिरी रहेकी छिन् । चलचित्रमा लगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । करिब ६० लाख रुपैयाँको लागतमा निर्माण भएको फिल्म २ घण्टा ५ मिनेट लामो छ । 

फिल्मको कार्यकारी निर्माता बद्री चौहान, उमानाथ सुवेदी, जुनु गौतम, संवाद झमक घिमिरे, मुक्ति उपाध्याय बराल, पटकथा मुक्ति उपाध्याय बराल, संगीत प्रकाश शिवाकोटी, गीतकार झमक घिमिरे, प्रकाश शिवाकोटी, छायाँकार शिव ढकाल, नृत्य निर्देशन कमल राई, प्रोडक्सन डिजाइनर दिनेश प्रकाश महरा, प्रोडक्सन म्यानेजर प्रकाश हमाल, कलरिष्ट श्याम कुवँर, सम्पादक तारा थापा किम्भेलगायत छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया