रुकुम र बैतडीमा हिमपात,कतै कष्ट कतै खुशी !

 पुस २३, २०७५ सोमबार १४:२४:४५ | उज्यालो सहकर्मी

राजु लामिछाने/जयराज अवस्थी

रुकुम – रुकुम पूर्व र रुकुम पश्चिमका लेकाली भेगमा हिमपात भएको छ ।

आइतबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै वर्षात भएपछि हिमपात भएको हो । आइतबार दिउँसोदेखि लेकाली भेगमा हिमपात र औल क्षेत्रमा वर्षात भएको थियो । रुकुम पूर्वका हुकाम, मैकोट, सिस्ने, पेल्मा भट्टेचौर, दादिंग, सेपेलगायतका क्षेत्रमा अधिक हिमपात भएको छ भने रुकुम पश्चिमका किटनी, जन्तिबसे लेक, मौराखारा, स्याजे, बल्लेजुरा, मौराखारालगायतका लेकमा हिमपात भएको छ ।

हिमपातका कारण यहाँका लेकाली भेगमा सेताम्य भएका छन् । हिमपातका कारण अत्याधिक चिसो भएपछि रुकुम पूर्वको जनजीवन कष्टकर भएको छ  ।चिसोका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । चिसो बढेपछि गाईबस्तुलाई घाँसपात खुवाउन, जंगलमा बस्तुभाउ चराउन समस्या हुनुका साथै काठदाउरा ल्याउन समेत गाह्रो भएको स्थानीयवासीले बताएका छन् । औल क्षेत्रमा वर्षा र लेकाली क्षेत्रमा हिमपात हुँदा चिसो बढेको हो ।

किसान खुशी

हिमपातसँगै वर्षात भएपछि गहुँ, जौ तथा तरकारी बाली सप्रिने आशामा किसानहरु उत्साहित भएका छन् । यो वर्ष जिल्लामा यो पहिलो पटक हिमपात भएको हो ।

अहिलेसम्म वर्षा नहुँदा हिउँदेबाली गहुँ–जौ सुक्न थालेपछि चिन्तित किसान वर्षाले खुशी भएका छन् । हिमपातसँगै परेको पानीले लगाएको फलफूल खेती, खाद्यन्न तथा तरकारी बाली राम्रो हुने मुसिकोट नगरपालिका रुकमु पश्चिमका कृषि इकाई प्रमुख मनोज पोखरेलले बताउनुभयो ।

सुदूरपश्चिका उच्च भागमा पनि हिमपात

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिमपात भएको छ । गएरातिदेखि हिमपात सुरु भएको हो । हिमपात भएसँगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको बिशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धी रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

लामोसमयको खडेरीपछि हिमपात भएकाले किसानहरु खुशी भएका छन् । हिमपातले हिउँदेबाली सप्रने भन्दै किसानहरु खुशी भएका हुन् । हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्कन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । 

 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया