क्रिश्चियन धर्मसँग आफ्नो नाम जोडिएको भन्दै नेता नेपालले जनाए आपत्ति

 पुस २३, २०७५ सोमबार १४:५२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ ।

नेकपाका वरिष्ठ नेता नेपालले सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ  र सहयोग जुटाउन आफू ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको पनि स्पष्टिकरण पनि दिनुभयो ।

सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराउनु भएको थियो । सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू समिटमा सहभागी भएको दाबी गर्नुभयो ।

उहाँले समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाउनुभयो । वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले एसिया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने बीपी कोइराला भएको जवाफ पनि कांग्रेस सांसद राजभण्डारीलाई दिनु भएको थियो । समिटमा कांग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया