‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दूतावासहरुलाई सरकारको निर्देशन

 पुस २३, २०७५ सोमबार १६:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले आउँदो चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दूतावासहरुलाई निर्देशन दिएको छ । 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दूतावासहरुलाई निर्देशन दिइएको जानकारी गराउनु भएको हो । सोमबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले सम्मेलनमा बाह्य लगानी भित्र्याउन उल्लेख्य सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गर्नुभयो । 

सरकारले आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ । त्यसका लागि विदेशस्थित नेपाली दूतावासहरुलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदूतहरुको नियुक्ति संविधानसम्मत ढंगले अघि बढाइएको पनि बताउनुभयो । उहाँले राजदूत फिर्ता गर्ने काममा सरकारले कहिँकतै राजनीतिक पूर्वाग्रह नराखेको दावी समेत गर्नुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले राजदूत नियुक्तिमा उमेर हद तोक्ने विषयमा छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । बैठकमा समितिका सदस्यहरुले राजदूत नियुक्ति समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले सबै देशहरुसँग मित्रवत कुटनीतिक सम्बन्ध विकास गर्ने नीति लिएको पनि स्पष्ट पार्नुभयो ।

नेपालले हालसम्म १ सय ६३ वटा देशसँग कुटनीतिक सम्बन्ध कायम राखेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले कुटनीतिक सम्बन्धलाई पारदर्शी बनाउन सरकार सचेत रहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया