फाल्गुनन्द गोल्डकप : एपीएफलाई हराउँदै झापा–११ सेमिफाइनलमा

 पुस २३, २०७५ सोमबार १७:४३:२७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा जारी १०औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्थानीय फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न क्वार्टरफाइनलको पहिलो खेलमा एपीएफलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा झापाका क्याप्टेन कर्ण लिम्बूको २ गोलको मद्धतले झापाले सेमिफाइलनमा स्थान पक्का गरेको हो । उनले २३ औँ र ८५ औँ मिनेटमा गोल गरे ।

अर्काे गोल भने ३८ औँ मिनेटमा दिलेन लोक्तानले गरे । एपीएफको तर्फबाट ३२औँ मिनेटमा मनिष लामाले एक गोल गरे । खेलको ५९औँ मिनेटमा एपीएपका रवि थिङको फ्रिकिक प्रहार पोलमा ठोक्किएर फर्किदा एपीएफले बराबरी गोल गर्न चुक्यो । खेलको अन्तिम समयमा झापाका कर्ण लिम्बूको सशक्त प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । 

खेलको म्यान अफ् द म्याच झापा–११ का कर्ण लिम्बू भए । उनले नगद १० हजार प्राप्त गरे । झाफा प्रतियोगिताको पहिलो खेलमा कर्णसिँ सोनाम मेमोरियल क्लब ताप्लेजुङलाई पराजित गर्दै क्वार्टरफाइनल पुगेको हो भने एपीएफ सोझै बाई पाएर क्वार्टरफाइनल पुगेको हो ।

प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक फिदिम स्पोर्टिङ क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । पुस ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

यस्तै विधागततर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन्  ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया