मलेसियाको कृषि फार्मका मालिकको कुरा

 बैशाख २६, २०७५ बुधबार १३:२०:५६ | रीतु थेबे
unn.prixa.net

काठमाडौं, फागुन २५ – सी कन सी चाइनिज मूलका मलेसियन नागरिक हुनुहुन्छ । मलेसियाको क्यामरुन हाइल्याण्डमा सी को कृषि फर्म छ । क्यामरुन हाइल्याण्डको सबैभन्दा उचाईमा रहेको उहाँको फर्म १० एकड जमिनमा फैलिएको छ । त्यहाँबाट वरिपरिका पहाड साना देखिन्छन् । तरकारी र फलफूल उत्पादन गर्न बनाइएका टनेलहरु हाइल्याण्डमा जताजतै देखिन्छन् । सी ले क्यामरुन हाइल्याण्मा खेतीपाती गर्न थालेको ३३ वर्ष भयो । गएको १५ वर्षदेखि विदेशी कामदारको भरमा उहाँले फर्म चलाइरहनु भएको छ । 

सी को फर्ममा अहिले ३२ जना विदेशी कामदार छन् । तीमध्ये ३० जना नेपाली कामदार हुन् । बाँकी दुई जना बंगलादेशी नागरिक हुन् । त्यहाँ उत्पादन हुने तरकारी ताइवान र सिंगापुरमा निर्यात हुन्छ । बाँकी स्थानीय बजारमा खपत हुन्छ । सी सित खेतीकिसानी, नेपाली कामदारसँग काम गर्दाको अनुभवका विषयमा गरिएको कुराकानी । 

कति वर्षदेखि काम गरिरहेका नेपाली कामदार तपाईंको फर्ममा छन् ? 

१४ वर्षदेखि लगातार काम गर्ने नेपाली हुनुहुन्छ । कोही १०/१२ वर्षदेखि काम गर्ने पनि छन् । १ वर्ष अगाडि आएका कामदार पनि छन् । केही नेपाली कामदार फर्के । 

नेपाली कामदार कसरी ल्याउनुहुन्छ ? 

हामीले मलेसिया र नेपालमा रहेका एजेन्टसँग सम्पर्क राख्छौं । उनीहरु मार्फत हाम्रोमा नेपाली श्रमिक आइपुग्छन् । इमानन्दार कामदारका सम्पर्कमा रहेका अन्य नेपालीलाई पनि प्रक्रिया पुर्‍याएर ल्याउँछौं ।

एकजना नेपाली कामदार ल्याउन कति खर्च हुन्छ ? 

चार हजार पाँचसय रिंगिट (झण्डै एक लाख १७ हजार रुपैयाँ)सम्म एजेन्टलाई तिर्नपर्छ । 

नेपाली कामदारसँग काम गर्दाको अनुभव सुनाउनुस् न । 

श्रमिकलाई माया, सम्मान र सानातिना समस्यामा चासो राखिदिनुहुन्छ भने उनीहरु तपार्इंप्रति बफादार र इमान्दार रहन्छन् । आफ्नो जिम्मेवारी अनुसार काम पनि गर्छन् ।

तर सबैजना उस्तै हुँदैनन् । कोही रक्सी खान खोज्छन् । कोही अल्छि पनि छन् । तर मेरो फर्ममा काम गर्नेहरु दुःख गरौं, कमाउँ भन्ने खालका छन् । रोजगारदाताप्रति उनीहरु बफादार र जिम्मेवार रहेको पाएको छु । 

रोजगारदाताका रुपमा नेपाली कामदारबाट तपाईंले गर्ने अपेक्षा के के हुन् ? 

गर्नुपर्ने काम, जिम्मेवारी उनीहरु आफैले बुझुन, धेरै कुरा भन्नु नपरोस् भन्ने लाग्छ । आफ्नो काम के हो भन्नेबारेमा उनीहरुलाई यहाँ आएको २/४ दिनमा नै थाहा हुन्छ । कामका लागि आदेश नकुरुन भन्ने लाग्छ ।अर्को कुरा, उनीहरुले काम गर्दा रोजगारदाता र साथीसँग झगडा नगरुन भन्ने पनि लाग्छ । साथै सबै रोजगारदातालाई झैं मेरोमा काम गर्नेले धेरै मेहनत गरिदिउन भन्ने लाग्छ ।

आफ्नो देश छोडेर यहाँ आउने भनेको कमाउनका लागि हो । यहाँ आउँदा सही च्यानल प्रयोग गरेर आइनुपर्छ । व्यवहार र सोचाई पनि सकारात्मक हुनुपर्छ । साथीभाइ बनाउन, जाँडरक्सी खान र झगडा गर्न त यहाँ पक्कै पनि आउने होइन । 

तपाईं नेपाल जानु भएको छ ?

म केही वर्ष अगाडि परिवारसहित नेपाल गएको थिएँ । नेपाल धेरै मन पर्‍यो । मौसम राम्रो छ । भूगोल पनि मलेसियाको झैं लाग्यो । 

नेपालको केही भूभाग र मौसम क्यामरुन हाइल्याण्डसँग मिल्दो छ । यहाँबाट नेपालीले के सिक्न सक्लान् ? 

यहाँ अत्याधुनिक तरिकाबाट खेती गरिन्छ । यहाँ काम गर्दा श्रमिकले तरकारी कसरी उत्पादन गर्ने भनेर सीप, ज्ञान र प्रविधि सिकेका हुन्छन् । मेसिन चलाउन सिकेका हुन्छन् । यस्ता सीप र ज्ञानलाई उनीहरु फर्केपनि नेपालमा प्रयोग गर्न सक्छन् । मेरो फर्ममा काम गरेका एकजनाले अहिले नेपालमा बन्दाकोपी उत्पादन गर्छन् । अर्को जनाले चाहिँ जोत्ने मेसिन किनेर आफ्नो र छिमेकीको बारीमा जोतेर व्यावसाय गरिरहेका छन् भन्ने सुनेको छु । सिक्ने र प्रयोग गर्ने भनेको त सीप, ज्ञान र प्रविधि नै हो ।

अन्तिम अपडेट: चैत १, २०८०

रीतु थेबे

वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्ने थेबेलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया