शिक्षकलाई विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने छुट छैन : मन्त्री पोखरेल

 पुस २३, २०७५ सोमबार १८:११:६ | किरण लोहनी
unn.prixa.net

गोरखा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भूकम्पले भत्किएका विद्यालयको पुनर्निर्माण डेढ वर्षभित्र सक्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

विद्यालय भवनलगायत पूर्वाधारबिना समग्र शैक्षिक सुधारको काम अघि बढाउन नसकिने भएकाले तोकिएको समयभित्रै पुनर्निर्माण सक्न उहाँले शिक्षा अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन गर्नुभएको हो ।

गोरखाको जनशक्ति माध्यमिक विद्यालयको नवर्निर्मित भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा उहाँले विद्यालय पुनर्निर्माणका अप्ठ्याराको समाधान गर्न शिक्षा मन्त्रालय तयार रहेको बताउनुभयो । गएको वैशााखमा गोरखा आएका बेला मन्त्री पोखरेलले दुई वर्षभित्र विद्यालय पुनर्निर्माणको काम सकिने दाबी गर्नुभएको थियो ।

संरचना निर्माणको काम सकेपछि मात्रै शैक्षिक विकासका अरु काम गर्न सकिने भन्दै उहाँले शैक्षिक सुधारको १० बुँदे मार्गचित्र अनुसार आफू अघि बढिरहेको बताउनुभयो । शैक्षिक सवालमा मात्रै आफ्नो सम्बोधनको पुरै समय खर्चनुभएका मन्त्री पोखरेलले शिक्षक गुणात्मक भएमात्रै सामुदायिक विद्यालयको शैक्षिकस्तर माथि उठ्ने बताउनुभयो ।

विद्यलायहरु ज्ञान हस्तान्तरण र ज्ञान निर्माणको थलो हो भन्दै उहाँले विद्यालयलाई जागीर खाने थलोको रुपमा मात्रै नलिन शिक्षकहरुलाई आग्रह गर्नुभयो । पछिल्लो समय अध्यापनभन्दा पनि राजनीतिक पार्टी र ट्रेड युनियनका काममा शिक्षक व्यस्त हुने गरेको भन्दै त्यस्ता शिक्षकले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेको बताउनुभयो ।

अहिले पनि शिक्षकप्रतिको सामाजिक भरोसा कायम रहेको भन्दै उहाँले अभिभावकले गरेको अपेक्षा र भरोसा पूरा गर्न नसक्ने शिक्षकलाई अध्यापन छोड्न पनि सुझाव दिनुभयो । पहिले तयार पारेका डायरी र नोटबुकबाट पढाएर शिक्षक नबनिने भन्दै उहाँले विद्यार्थीहरुलाई गृहकार्य दिन र बेलाबेला उनीहरुको सिकाईको परिक्षण गर्न आग्रह गर्नुभयो ।

स्वामित्व कसले दिने भन्ने अन्यौलका कारण सामुदायिक विद्यालयहरुको गुणस्तर अघि बढ्न नसकेको भन्दै उहाँले शिक्षक, विद्यार्थी र अभिभावकलाई गुणस्तर सुधारका लागि सहकार्य गर्न आग्रह गर्नुभयो । विगतको जस्तो ढंगले अब विद्यालयहरु चल्न नसक्ने भन्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयहरुमा पनि सिपमूलक पढाई शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

एउटा स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक शिक्षालय स्थापनाका लागि सरकारले काम गरिरहेको भन्दै उहाँले अबको शिक्षा सीपलाई श्रममा र श्रमलाई उत्पादनमा बदल्न सक्ने खालको हुनुपर्ने बताउनुभयो ।

सरकारले गर्न लागेको शैक्षिक सुधारका कार्यक्रमबारे चर्चा गर्दै उहाँले प्राविधिक शिक्षासँगै १२ कक्षासम्मको पठनपाठनलाई निःशुल्क बनाउने सरकारको योजना रहेको चर्चा गर्नुभयो । अपाङ र आर्थिक रुपमा विपन्न विद्यार्थीलाई प्राविधिक धारतर्फको पठनपाठन पनि निःशुल्क बनाउनेबारे सरकारले गृहकार्य गरिरहेको मन्त्री पोखरेलको भनाई छ ।

देशको समग्र शैक्षिक सुधारका लागि स्थानीय, प्रदेश र संघीय सरकारले मिलेर काम गर्नुपर्नेमा उहाँको जोड छ । मन्त्री पोखरेलले नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधनका लागि काम शुरु भैसकेको जानकारी दिनुभयो ।

आउँदो फागुन २१ गतेभित्र संघीय शिक्षा ऐन ल्याउने बताउँदै शिक्षामन्त्री पोखरेलले शिक्षक दरवन्दी मिलानको काम पनि छिट्टै शुरु हुने जानकारी दिनुभयो । अबको २५ वर्षपछिको नेपाललाई चाहिने खालको जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम, शिक्षकको क्षमता र विद्यालयको पठनपाठनमा सुधारको प्रयास थालिएको उहाँको भनाई छ ।

विसं २०८५ पछि आफ्ना बालबालिकालाई शिक्षा नदिने अभिभावकलाई स्थानीय तहबाट पाउने सेवा सुविधा नदिने गरी ऐन ल्याउन लागिएको मन्त्री पोखरेलको भनाई छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया