इँटा बनाउने ठाउँमा पाइलैपिच्छे जोखिम

 पुस २४, २०७५ मंगलबार ८:५६:७ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाडौं – एक महिनाअघि बावुआमासँगै इँटा बनाउने खेतमा बस्न थालेका धनुषाका ५ वर्षीय अजित तामाङको हातखुट्टा र मुख समेत फुटेर बिरुप भएको छ । छोरोको अवस्था देखेर बावुआमा चिन्तित छन् । ‘अझै एक/डेढ महिना चिसो हुन्छ, कसरी जोगाउने भन्ने चिन्ताले सताइरहन्छ’ अजितकी आमा श्रीमायाले भन्नुभयो, ‘धन्न अहिलेसम्म बिरामी भएको छैन, पहिले चिसोकै कारण कति केटाकेटी मरे रे भन्ने सुनेको थिएँ ।’

श्रीमायाले त सुन्नु मात्रै भएको हो, तर उहाँका श्रीमान नैनबहादुरले त इँटा भट्टाको जोखिम प्रत्यक्ष देख्नुभएको छ । १० वर्षपछि फेरि इँटा बनाउन काठमाडौं आएका नैनबहादुर पहिलेका घटना सम्झँदा अहिले पनि झसँग हुनुहुन्छ । ‘पहिले केटाकेटी निमोनियाले मरेको मैरै आँखाले देखे, केही वर्षअघि काम गर्न आएका बुढा मान्छेले पनि चिसोकै कारण ज्यान गुमाउनुपर्यो’ उहाँले भन्नुभयो, ‘हामी बलिया बाँगालाई त गाह्रो हुन्छ भने केटाकेटी र बुढाबुढीलाई कस्तो होला?’

खाल्डाको पानीमा समेत डुबेर कति केटाकेटीको ज्यान गएको उहाँले बताउनुभयो । ‘अहिलेजस्तो पहिले भट्टावालाले नै माटो मुछेर दिंदैनथियो, इँटा बनाउने ठाउँ नजिकै खाल्डोमा पानी जमाएर माटो मुछ्ने काम गरिन्थ्यो, पानीले भरिएको खाल्डोमा केटाकेटी पर्ने डर हुन्थ्यो, केही वर्ष पहिले खाल्डोमा डुबेर दुईजना केटाकेटीको ज्यान गएको त मैले नै देखेको हो’ नैनबहादुरले भन्नुभयो । अहिले इँटा भट्टामा पहिलेजस्तो पानीको खाल्डो त हुँदैन, तर चिसोको समस्या भने उस्तै छ । 

पुस र माघ महिना कटाउनै गाह्रो

इँटा बनाउने काम मंसिरदेखि वैशाख/जेठसम्म हुन्छ । फागुन लागेपछि चिसो कम हुने भएकाले काम केही सहज हुन्छ । पुस र माघ महिनामा सबैभन्दा धेरै गाह्रो हुन्छ । एकातिर बस्ने खेत नै चिसो हुन्छ । त्यसमाथि चिसै इँटा चाङ लगाएर बनाएको छाप्रोभित्र पनि उस्तै चिसो हुन्छ ।

जाडोमा पर्याप्त न्यानो लुगा नहुने भएकाले केटाकेटीलाई चिसोबाट जोगाउन समस्या हुने गरेको खोटाङका मनिकुमार राईले बताउनुभयो । कीर्तिपुर बजारमा डेरा गरेर बस्ने उहाँ इँटा बनाउन श्रीमती र छोराछोरी सहित छाप्रोमा बस्नुहुन्छ । आउँदो वैशाखसम्मै खेतमै बस्ने भएकाले केटाकेटीलाई जोगाउन समस्या हुने गरेको उहाँले सुनाउनुभयो ।

‘फागुन लागेपछि चिसो केही कम हुने भएकाले त्यति समस्या हुँदैन, तर पुस र माघ महिना कसरी कटाउने भन्ने चिन्ताले सताइरहन्छ’ उहाँले भन्नुभयो ।केटाकेटी र बुढाबुढीलाई मात्र होइन, इँटा बनाउने ठाउँको बसाईका कारण सबै श्रमिकलाई उसैगरी चिसोले सताउँछ । न्याना कपडा नहुने र दिनरात खेतमै बस्नुपर्ने भएकाले पुस माघको महिनामा धेरै न समस्या हुने गरेको नैनबहादुरले बताउनुभयो ।

‘दिउँसो घाम लागेको बेला मात्र राहत महसुस हुन्छ, बिहान बेलुका र रातमा भनेर चिसोले मरिने हो कि भन्ने डर मात्र हुन्छ’ उहाँले भन्नुभयो । चिसोसँगै बालबालिकामा कुपषोणको समस्या पनि देखिने गरेको छ । इँटा भट्टामा काम गर्ने मजदुरले पर्याप्त समय दिन नसक्ने र पोषिलो खानेकुरा पनि नहुने भएकाले बालबालिकालाई कुपोषण हुने गरेको हो ।

धुवाँ र धुलोको समस्या

इँटा बनाउन मुछेको माटोसँगै पाँगो भनिने सुख्खा धुलो माटो पनि चाहिन्छ । एकातिर चिसो, अर्कोतिर हिलो र धुलो हुने भएकाले हात खुट्टा जोगाउनै मुश्किल पर्ने धनुषाका जीवन मगरले बताउनुभयो । ‘हामीलाई भन्दा पनि केटाकेटीलाई निकै असर गरेको छ, चिसो र धुलो मिसिंदा छोरीको हात खुट्टा फुटेर हेर्नै नहुने भएको छ’ छेउमा रहेकी सानी छोरी देखाउँदै उहाँले भन्नुभयो ।

धुवाँको समस्या झन् ठूलो छ । काँचो इँटा पकाउन कोइला बाल्नु पर्छ । कोइलाबाट निस्केको धुवाँविषालु हुन्छ । इँटा भट्टाको चिम्नीबाट निस्केको यस्तो धुवाँले वरपरको बस्तीमा समेत असर पुर्याइरहेको हुन्छ । ‘टाढा बस्ने मान्छेलाई त धुवाँको पिरो हुन्छ भने हामी नजिकै बसेर काम गर्नेलाई झन् कस्तो होला ? धुलोसँगै धुवाँको पनि समस्या हुन्छ’ इँटा बनाउँदै गरेका काभ्रेका ढोसरे तामाङले भन्नुभयो ।

पहिलेकोको तुलनामा अहिले इँटा भट्टाहरुका चिम्नी सुधारिएकोले प्रदुषण कम भएको उद्योगीले दाबी गरे पनि इँटा पोल्दा निस्कने धुवाँले वरपरका बासिन्दासँगै त्यहाँ काम गर्ने कामदार प्रत्यक्ष मारमा परेका छन् ।

असुरक्षित बसाई

इँटा भट्टामा काम गर्ने प्रायः सबै मजदुर खुला ठाउँमै बास बस्छन् । काँचो इँटा चाङ लगाएर बनाइएको छाप्रोले हावा र पानी मुश्किलले छेक्छ । बावुआमासँगै बस्ने केटाकेटीलाई निमोनियाले बढी सताउँछ ।

अझ महिला र किशोरी बढी समस्यामा छन् । एक त सबै इँटा भट्टामा शौचालयको व्यवस्था हुँदैन । 

अस्थायी शौचालय बनाए पनि धेरैले एउटै प्रयोग गर्ने भएकाले झाडी र खोलातिर जानुपर्ने बाध्यता छ । त्यसमाथि कतिपय छाप्रोमा ढोका नहुने र ढोका भए पनि कच्चा हुने भएकाले किशोरीहरुलाई बढी डर हुने गरेको छ ।

‘हुन त वरपर गाउँकै मान्छेहरु बस्नुहुन्छ, तै पनि राती कोही आएर केही गर्ने हुन् कि भन्ने डर लागिरहन्छ’ इँटा बोक्न आएकी रोल्पाकी १८ वर्षीया प्रेमसरा बुढाले भन्नुभयो ।

आराम र मनोरञ्जन कम, आठ घण्टाभन्दा धेरै काम

मजदुरहरुलाई आठ घण्टाभन्दा बढी काममा लगाउन नपाउने अन्तर्राष्ट्रिय नियम नै छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने नारा प्रचलित छ । तर इँटा भट्टामा काम गर्ने मजदुरलाई आराम र मनोरञ्जन गर्ने समय निकै कम हुन्छ । उनीहरु दिनरात काम गर्न बाध्य हुन्छन् ।

‘साहुले नै धेरै काम गर्न लगाउने होइन, तर जति धेरै काम गर्यो उति पैसा धेरै हुने भएकाले हामी आठ घण्टाभन्दा बढी काम गर्छौं’ इँटा बनाउँदै गरेका सिन्धुलीका लिला बिकले भन्नुभयो, ‘कहिलेकाहीँ राती दुई बजे उठेर पनि काम गर्ने बानी छ, मनोरञ्जन गर्ने समय त हुन्न, केही घण्टा आराम चाहिँ गर्छौं ।’

चिसो, धुलो र धुवाँको जोखिम एकातिर छँदैछ । अर्कोतिर आराम नगरीकन काम गर्ने भएकाले इँटा भट्टाका श्रमिक स्वास्थ्यको थप जोखिममा छन् । उनीहरुसँगै बस्ने बालबालिका झन् बढी समस्यामा छन् । 

एकातिर उनीहरुको पढाई छुट्ने गरेको छ भने चिसोका कारण हुने निमोनियाले ज्यानै जान सक्ने जोखिम पनि छ । यसतर्फ सम्बन्धित निकायको ध्यान पुगेको देखिंदैन ।

लाखकाे आशमा खेतको बासका अन्य शृङ्खला 

जीवनकी कान्छी छोरीलाई कसले फकाइदेला ?

स्कुल नभेटेपछि इँटामै ए, बी, सी, डी...

कलेज पढ्ने दुई रोल्पाली किशोरीका सपना इँटाका भारीले थिचिए

इँटासँग साइनो गाँसिएका ६ सन्तान : दुई श्रीमानका, दुई श्रीमतीका र दुई दुवैका !

स्कुलमा ‘लभ’ परेर पढाइ बिग्रियो : पासपोर्टमा कान बिग्रेर काम सप्रियो !

दिनरात बुढाबुढी साथ : मेलो सार्न कुखुरासँग बात !

अन्तिम अपडेट: चैत ३०, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया