पाठ्यक्रममा वेदव्यास

 पुस २४, २०७५ मंगलबार १२:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – महाभारतका रचयिता वेदव्यासको जन्मभूमि दमौली आसपासका उच्च माध्यमिक तहका विद्यालयमा वेदव्यासको बारेमा अध्यापन सुरु भएको छ ।

व्यास नगरपालिकाले व्यासको प्रचारप्रसार गर्ने उद्धेश्यले वेदव्याससम्बन्धी विषयबस्तुलाई पाठ्यक्रमको रुपमा विस्तार गरेको हो ।

व्यास नगरपालिका भित्रका प्लस टु तहका सबै विद्यालयमा यसै शैक्षिक सत्रबाट लागू हुने गरी महर्षि वेदव्यास विषय अध्ययन गराउन थालिएको व्यास नगरपालिकाका शिक्षा विभाग प्रमुख अम्बिका आचार्यले बताउनुभयो ।

यो शैक्षिक सत्रबाट कक्षा ११ मा लागू भएको पाठ्यक्रम आउँदो वर्ष कक्षा १२ का लागि समेत पाठ्यक्रम निर्माणको काम अघि बढिरहेको उनले जानकारी दिए । गत साउनमा बसेको व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रका विद्यालयमा व्यासका बारेमा जानकारी दिने पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।

व्यासका अध्येता काशिनाथ न्यौपानेले तयार पारेको पाठ्यपुस्तक आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्राध्यापक डा. रामकुमार अधिकारीको संयोजकत्वमा निमित्त समितिले तयार पारेको हो । व्यास नगरपालिका भित्र प्लस टु तहको अध्ययन हुने १४ वटै विद्यालयमा पाठ्यपुस्तकको अध्यापन सुरु भएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया