वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण नभएकाेमा नेकपाकै सांसदहरुले गरे सरकारकाे आलाेचना

 पुस २४, २०७५ मंगलबार १४:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले नै वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका सांसदहरुले करोडौंको जडिबुटीलगायतका वनजन्य सम्पदाहरु भारतमा चोरी निकासी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।

समितिका सदस्यसमेत रहनुभएका नेकपाका राष्ट्रियसभाका सांसद दिनानाथ शर्माले वन सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको अर्को आलोचना गर्नुभयो । उहाँले चोरी निकासी नियन्त्रण गर्न र वनको उचित संरक्षण गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराउनुभयो ।

 नेकपाकै अर्का सांसद चक्रप्रसाद स्नेहीले वन ऐन तत्काल संशोधन गर्न पनि सरकारसँग माग गर्नुभयो ।

खोला, नदी किनाराबाट २ सय मिटर वरपरको रुख ढलेपनि विद्यमान ऐनले त्यसको सदुपयोग गर्ने अधिकार नदिएको उल्लेख गर्दै सो रुख कटान गर्न मिल्ने गरी वन ऐन संशोधन गर्न सरकारसँग माग गर्नुभएको हो ।

महाकाली नदी किनारामा ढलेका रुख कटान गर्न ऐनले नदिएपछि त्यसको सदुपयोग भारतीय नागरिकहरुले गरिरहँदा पनि सरकारले त्यस सम्बन्धमा कुनै चासो नदिएकोमा सांसद स्नेहीले आपत्ति जनाउनुभयाे ।

सांसद स्नेहीले वनको सदुपयोग गर्ने नीति अझै लिन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया