यात्रामा मैले भेटेकी आमाले साँझमा छोरो भेटिन् होला त

 पुस २४, २०७५ मंगलबार १६:३८:४६ | सन्जिता देवकोटा

पुसको दोस्रो हप्ता रिर्पोटिङको सिलसिलामा पूर्व पुगेको थिएँ । इलामबाट दिउँसोतिर साथी विशाल कार्की र म झापाका लागि जिप चढ्यौं । झमक्क साँझ पर्दा बिर्तामोड पुगियो । हामीलाई बिर्तामोडबाट दमकसम्म जानुपर्ने थियो ।

गाडी पाइएला कि नपाइएला भन्ने चिन्ता इलामदेखि नै थियो ।  ‘प्राय साँझ परेपछि बिर्तामोडबाट दमक इटहरी जाने गाडी पाईंदैन’ भनेर इलामबाट हामीसँगै यात्रामा रहेका स्थानीयले सुनाएका थिए ।

बिर्तामोडको पश्चिम स्टेशमा ओर्लंदा एक दुईवटा गाडी लाइनमा देखियो । दमक नै जाने गाडी होलान् कि भनेर मनमा आशाको बत्ति पिलिक्क बल्यो । 

दुईमध्ये एक बस मोरङको उर्लाबारीसम्म जाने रहेछ । सिट लगभग खाली नै थियो । अगाडि पट्टीको लामो सिटमा बस्यौं । त्यो सिटमा एक जना वृद्धा आमा हुनुहुन्थ्यो । साँझको समय । एउटा मात्रै गाडी । गाडी त एकैछिनमा भरियो । 

हामी बसेको केही समयपछि गाडी हर्न लागाउँदै हुईँकियो । 

गाडीको रफ्तार निकै थियो । म अगाडि हेर्दै छक्क पर्दै थिएँ । अँध्यारो छ । उताबाट आएका गाडीका बत्ति पिलपिल देखिन्छ । कस्तो गाडी आगाडिबाट आउँदै छ भनेर ठम्याउन त गाह्रो थियो । तर गुरुजीले कानै थुन्न पर्नेगरी हर्न बजाउँदै गाडी कुदाइरहेका थिए । 

झापाको सुरुङ्गा कटेका थियौं होला, सहचालक भाडा माग्दै आए । हामीसँग भन्दा पहिला त हाम्रो छेउमा बस्नुभएकी वृद्ध आमासँग मागे । ‘कति हो भाडा, मेरो त कार्ड छ,’ ती वृद्धाले सहचालकलाई सोध्नुभयो । 

‘यहाँ काडसाड चल्दैन, पूरा भाडा दिनुस्, ८० रुपैयाँ,’ सहचालकले कडा स्वरमा जवाफ फर्काए । वृद्ध एकैछिन चुप लाग्नुभयो र फेरि बोल्नुभयो – ‘बुढाबुढीलाई त सित्तैमा लैजान्छ हैन र, मसँग त पैसा छै्रन, त्यही सोचेर चढेकी हुँ ।’

‘एउटा हरियो बसले मात्र दिन्छ आमा छुट्, यो बस त्यस्तो बस होइन, यसमा त पूरा भाडा लाग्छ,’ सहचालकले ठूलो स्वरमा भने । ठूलो स्वरमा पैसा मागिरहेका सहचालकलाई साथी विशाल कार्कीले वृद्धाको भाडा आफूले दिने भन्दै शान्त गराए ।

काँकडभिट्टाबाट आएको बसमा ती वृद्धा आमा धुलाबारीबाट चढ्नुभएको रहेछ । धुलाबारीदेखि दमकसम्मको भाडा साथी विशालले तिरिदिनुभयो । सहचालकले भनेको हरियो बस ‘सगरमाथा यातायात’ रहेछ । सगरमाथाले वृद्धवृद्धालाई छुटमा यात्रा गराउने कुरा सहचालकले नै सुनाए । 

‘त्यो कर छुटमा नेपाल भित्रिएको गाडी हो, त्यसले पो छुट दिन्छ, हामीले कसरी छुट् दिने, उ चाहिँ बुढाबुढीलाई नचढाउन पाए हुन्थ्यो भन्छ, बुढाबुढी देखेपछि रोक्दै रोक्दैन त,’ सहचालकले रीस पोख्न भ्याइहाले । 

पातलो ज्यान । आँखामा चस्मा । पछ्यौरा ओड्नुभएको थियो ती वृद्धा आमाले । मेरो हजुरआमा भन्दा पनि पाको उमेरको देखिनुहुन्थ्यो । 

झमक्कै साँझ परिसक्यो । दमक पुग्दा त साढे सात नै बज्ला । साथमा पैसा पनि नबोकेर कहाँ हिँड्नुभएको होला ? किन एक्लै हिँड्नुभएको होला ? ती वृद्धा आमालाई हेर्दा मेरो हजुरआमालाई सम्झेर मन बिझायो । नसोधी बस्न किन मन मान्थ्यो र ! 

नाम रहेछ, राममाया पोख्रेल ।

घर : इलाम,तोरीबारी । 

उमेर : ८० वर्ष ।

मैले राममायासँग आफू पनि इलाम नै गएर फर्किएको कुराबाट थप कुरो अघि बढाएँ । इलाम नै गएर फर्किएको भनेपछि उहाँ खुलेर कुरा गर्न थाल्नुभयो ।

‘आठ वर्षको उमेरमै विवाह भयो नि नानी मेरो त, घरबाट दही र कोला(केरा) बेच्न कति आउँथ्यौं दमक बजार अहिले जस्तो थिएन पहिले,’ राममायाले पुराना कुरा सम्झिनुभयो । 

बदलिएको दमक बजार, अनि राममायाको जीवन । राममाया ८ वर्षकी हुँदा ४० वर्षकासँग बिहे भयो । श्रीमानको पहिलो श्रीमतीको मृत्यु भएपछि कान्छी श्रीमती भएर भित्रनुभएको रहेछ उहाँ । 

‘त्यो बेला चलन नै त्यस्तो थियो, बुढाखाडा केही भन्दैन थिए नि, बाउआमालाई  छोरीको बिहे गरिदिए हुन्थ्यो,’ मैले ४० वर्षका बुढासँग कसरी बिहे भयो भनेर सोध्न नभ्याउँदै राममाया आफैंले भन्नुभयो । 

१४ वर्षको उमेरमा जेठो छोरो जन्मियो । रामायाका ६ भाइ छोरा छन् । साइलो छोरासँग तोरीबारीमै बस्ने राममायाको यो यात्रा झपाको धुलाबारीमा आफन्तसँग भेटघाटका लागि तय भएको रहेछ । धुलाबारीमा बस्ने बिरामी एक आफन्त पर्ने बुहारीलाई हेर्न गएको उहाँले भन्नुभयो ।

‘धुलाबारीमा उनीहरुलाई भेटें, यतै बस्नु त भनेका थिए, तर खै त्यता बस्न मन लागेन,’ राममायाले सुनाउनुभयो, ‘मेरो माइलो छोरो दमकको फाल्गुनन्द चोकमा बस्छ क्या, उसैकेमा बस्न हिँडेकी हुँ अहिले ।’

बसको ट्याँट्याँ टुँटुँ हाम्रो गुनगुनमा हराएको थियो । राममाया घरी ठाउँको बारेमा सोध्नुहुन्थ्यो त घरी मेरो बारेमा । 

म काठमाडौंबाट आएको थाहा पाएपछि राममायाले आफ्नो एक छोरा काठमाडौंमा भएको र केही दिनमा आफूलाई लिन काठमाडौंबाट नातिनी  आउने कुरा पनि सुनाउनुभयो । 

काठमाडौं किन जान लाग्नुभएको – मैले सोधें ।

‘पशुपति दर्शन गर्नु छ, अनि यसो घुम्नु पनि पर्‍यो नानी फुको मान्छे जहाँ गए पनि त भयो,’ राममायाले फिस्स हाँस्दै भन्नुभयो । 

‘अनि बुवा त ?’ मैले सोधेँ । 

‘बा त ४५ सालतिरै हो बितेको, मेरा नानीहरु ससाना थिए,’ राममायाले नमिठो मान्दै खाटा बसेको घाउ खोट्याउनुभयो, ‘मेरो बिहे गर्दै ४० का थिए, अनि कति बाँचून् त, बालबच्चापाे साना थिए त, बा को त उमेर भएको थियो नि हउ ।’

केहीबेरको कुराकानीमै थाहा भयो, राममायालाई पति बितेपछि बालबच्चाको लालनपालनमा कम्ता हैरानी खेप्न परेन । खेतीपातीले खान पुग्दैन थियो । इलाम तोरीबारीदेखि उहाँ दमक बजारमा केरा र दही बेच्न झर्नुहुन्थ्यो । भएको दुई चारपैसाले भ्वाङ परेको घरव्यवहार टाल्नुहुन्थ्यो । 

राममायाले कुदिरहेको बसबाट अगाडिको अँध्यारो बाटोतिर हेर्दै विगतका दुःख सुनाउँदा मलाई भने दमक बजारमा झरेपछि पैसा पनि नबोकी हिँड्नुभएकीे उहाँले छोराको घर पत्ता लगाउने हुन् कि हैनन् भनेर मन पोलिरहेको थियो ।

राममायाले छोरालाई आफू आउँदै छु भनेर खबर गर्नुभएको थिएन । हामीले दमक बस्ने छोराको नम्बर सोधेर फोन लगाइदिने कोसिस् गर्‍यो तर लागेन । ‘त्यसको नम्बरमा फोन नै लागेको छैन्, तर मैले छोराको घर देखेको छु,’ ढुक्कसँग राममायाले भन्नुभयो । मलाई भने अध्यारोमा कसरी छोराको घरसम्म पुग्नुहोला भन्ने चिन्ता थियो ।

राममायाका कुरा सुन्दै आफ्ना कुरा सुनाउँदै गर्दा कति छिट्टै दमक बजार आइपुग्यो । गुरुजीले उहाँले भनेकै ठाउँ ‘आकाशे पुल’ मै गाडी रोकिदिए । ‘म यो बाटो पछ्याउँदै फल्गुनन्द चोक पुगिहाल्छु, त्यहीँ नजिकै हो छोरा बस्ने,’ राममायाले बिदा हुने बेलामा भन्नुभयो ।

राममाया बाटो पछ्याउँदै छोराको घरसम्म पुग्नुभयो कि भएन होला ? मलाई अहिले पनि चिन्ता लागिरहन्छ । तर छोराको घर देखेको छु भन्नुभएको थियो । झर्नेबित्तिकै भेट्नुभयो त होला ।

अन्तिम अपडेट: चैत २६, २०७५

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया