सुशान्त सिंह राजपुतसँगको ब्रेकअपबारे २ वर्षपछि मुख खोलिन् अंकिताले

 असार ३, २०७५ आइतबार १७:५१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कुनै समयमा एक अर्काको गहिरो प्रेममा रहेका अभिनेता सुशान्त सिंह राजपुत र अंकिता लोखण्डे अहिले अलग भइसकेका छन् ।

अंकिता र सुशान्त ‘पवित्र रिश्ता’ नामक टेलिसिरियलमा  पति–पत्नीको भूमिका निर्वाह गर्नेताका दुवै एक अर्काको प्रेममा थिए ।

तर यी दुवैको लामो पे्रम सम्बन्ध सुशान्त बलिउडको ठूलो पर्दामा स्थापित भएसँगै समाप्त हुन पुग्यो । यसरी सम्बन्ध तोड्दा अनेकौं खबरहरु आएपनि दुवैले यसबारे कुनैपनि प्रतिक्रिया जनाएनन् ।

तर सम्बन्ध टुटेपछि अंकितालाई भने ठूलो झड्का लागेको कुरा कसैबाट लुकेको थिएन ।

किनकि, सुशान्त बलिउड फिल्ममा एकपछि अर्को सफलता हासिल गर्दै गए भने उता अंकिताले अभिनयको दुनियाबाट आफुलाई राखिन् । 

अहिले लामो समयको अन्तरालपछि अभिनेत्री अंकिता लोखण्डे कंगना रानाउतको फिल्म ‘मणीकर्णिका’ मार्फत बलिउडमा डेब्यू गरिरहेकी छिन् ।

अंकिताले अहिले उनको डेब्यू फिल्म र प्रेम सम्बन्धबारे एक अन्तरवार्ताका क्रममा खुलेर बोलेकी छिन् । 

अंकिताले ब्रेकअपले उनको करियरमा कुनै असर नपरेको तर त्यसबेला काम र प्रेमलाई एकसाथ सम्हाल्न नसकेको बताएकी छिन् । 

साथै अगाडि भनेकी छिन् ‘म जब काम गरिरहेकी थिएँ,त्यो बेला सन्तुष्ट थिएँ र जुन बेला कामदेखि टाढा थिएँ त्यस समयमा पनि सन्तुष्ट नै थिएँ । म यो भन्न चाहन्न कि ब्रेकअपले मेरो करियरलाई असर गरेन तर पनि प्रेम र काम अलग चिज हुन् । यि दुवैलाई सन्तुलनमा राख्न जरुरी हुन्छ, तर म यसमा सफल हुन सकिन ।’ 
उनले अहिले आएर आफुलाई माया गर्न सिकेको बताएकी छिन् । साथै अब उनको माया भनेको उनको करियर रहेको र आफ्नो सम्पूर्ण शक्ति केवल कामका लागि प्रयोग गर्ने बताएकी छिन् । 

उनले अगाडि थपिन्, ‘तर यसको मतलब अब आफुले कुनै सम्बन्धमा रहन नचाहेको भन्ने होईन । म अहिले पनि मेरो जीवनमा राजकुमारको प्रतिक्षामा छु । तर यस्तो भन्नुको मतलब कसैको खोजीमा भने अवश्य छैन । किनकी म यस्तो कुरादेखि धेरै अगाडि आइसकेँ । अब मलाई जीवनमा केही बन्नको लागि साथीको आवश्यकता छैन ।’  

उनले भनिन्, ‘म सुशान्तको साथमा रहेर आफैलाई माया गर्न भुलिसकेकी थिएँ । मैले आफैंलाई बिर्सिएर ऊसँगको सम्बन्धमा बाँचिरहेकी थिएँ । तर अहिले मैले सबैथोक पाइसकेँ । मैले आफैलाई माया गर्न सिकिसकेँ ।’ 

उनले अहिले आफूले कहाँ, कसलाई कति महत्व दिनुपर्छ भन्ने कुरा बुझेको र हरेक कुरालाई कसरी सन्तुलनमा राख्ने भन्ने थाहा भएको बताएकी छिन् ।  

खबरहरुका अनुसार अंकिता अहिले नयाँ साथीको प्रेममा छिन् । उनी विक्की जैन नामका व्यापारीसँग डेट गरिरहेकी छिन् । विक्की बक्स क्रिकेट लिगका सहमालिक हुन् । 

फिल्म ‘मणिकर्णिका’ मा अभिनेत्री कंगना रानाउतको मुख्य भूमिका रहेको छ । यसमा अंकिता लोखण्डेको भूमिकालाई समेत महत्वका साथ हेरिएको छ ।   
  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया