गणतन्त्रविरुद्ध आन्दाेलन गर्ने राप्रपाकाे घाेषणा

 पुस २४, २०७५ मंगलबार १८:१:४५ | उज्यालो सहकर्मी

काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, गणतन्त्र र धर्म निरपेक्षता नेपाली जनताको चाहना र आवश्यकता नभएको दावी गर्नुभएको छ । 

अध्यक्ष थापाले विदेशीको दबाब र प्रभावमा लादिएकाले आफ्नो पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध फागुन ७ गतेबाट देशभर आन्दोलन गर्ने निर्णय लिनुपरेको पनि स्पष्ट पार्नुभयो ।

मंगलबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय पार्टीको भेलामा बोल्दै उहाँले आन्दोलनको राप र तापमा पारेर लादिएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई हटाएर राजसंस्थासहितको हिन्दू राज्य स्थापना गर्ने लक्ष्यका साथ आफ्नो पार्टी अघि बढिरहेको पनि बताउनु भयो ।

नेपालको पहिचानलाई जोगाइराख्न पनि मुलुकलाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने अध्यक्ष थापाको तर्क छ । अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टहरुले गलत बाटो लिएको दावी गर्दै आफ्नो पार्टीलाई मुलुकको वैकल्पिक शक्तिको रुपमा विकास गर्ने पनि बताउनु भयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया